गठबन्धनसँग मिल्दा काँग्रेसलाई फाइदै फाइदा : महामन्त्री शर्मा

गठबन्धनसँग मिल्दा काँग्रेसलाई फाइदै फाइदा : महामन्त्री शर्मा

राष्ट्रियसभाको आगामी चुनावमा गठबन्धनसँग मिल्दा तीनवटा सिटमा आफ्नो पार्टीलाई फाइदा पुगेको नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको भनाइ छ । आज विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पहिले तीनवटा सिटमा मात्रै सीमित भएकोमा अहिले अन्य तीनवटा सिट थप हुँदा काँग्रेसलाई फाइदा पुगेको बताएका हुन् ।

प्रदेश १ मा मात्रै एमालेसँग प्रतिस्पर्धा देखिएको बताउँदै उनले सातवटै प्रदेशमा गठबन्धन दलले चुनाव जित्नेसमेत दाबी गरे ।

राष्ट्रिय सभाको चुनावमा मात्रै कि आउने चुनावमा पनि गठबन्धन कायम हुन्छ भन्ने सञ्चारकर्मीको जवाफमा उनले पास्नीको समयमा पास्नीको मात्र शुभकामना दिनुपर्ने बताए । पास्नीमा गएर विवाहको शुभकामना दिन नहुने भन्दै उनले पछिको कुरा पछि नै हुने उल्लेख गरेका छन् ।

महामन्त्री शर्मा राष्ट्रियसभाका सदस्य गोपाल बस्नेतको टिकट लिएर बिराटनगर पुग्ने क्रममा उक्त धारणा राखेका हुन् ।

टिप्पणीहरू