माओवादीमा महासचिवको महाभारत
महासचिवका लागि दुई नेताबीचको हानथापले नेकपा (माओवादी केन्द्र) मा पदाधिकारी चयन थप पेचिलो बन्ने देखिएको छ । अध्यक्षपछिको शक्तिशाली मानिने महासचिवमा प्रचण्डका दुई विश्वासपात्र वर्षमान पुन र जनार्दन शर्माले दाबी नछोडेपछि माओवादीलाई पदाधिकारी छान्नै महाभारत परेको हो ।
आफूलाई अध्यक्ष प्रचण्डको उत्तराधिकारी ठान्ने पुन र शर्मा दुवै माओवादीमा बलियो सांगठनिक पकड भएका नेता हुन् । माओवादीको आधारभूमि मानिएको रोल्पाका पुन र रुकुमका शर्माबीच लामो समयदेखि ‘हार्दिकतापूर्ण सम्बन्ध’ छैन । उनीहरुको टकरावलाई ‘रोल्पा र रुकुमको लडाई’ का रुपमा पनि लिने गरिएको छ । यहि स्वार्थको लडाईले गर्दा एकले अर्कालाई स्वीकार नगर्ने अवस्थामा पुर्याएको बताइन्छ ।
थुप्रै पुराना नेताहरुलाई पछि पर्दै पार्टीमा उदाएका पुन र शर्मा माओवादीको आठौँ महाधिवेशन शुरु हुनुअगाडि नै महासचिवको चर्चामा थिए । तर, पछिल्लो समय नेताहरु देव गुरुङ, पम्फा भुसाल, हरिबोल गजुरेल र शक्ति बस्नेत पनि महासचिवको चर्चामा थपिएका छन् । शर्मा र पुनको गुटगत लडाईमा गुरुङ, भुसाल, गजुरेल र बस्नेतमध्ये एकले महासचिवमा बाजी मार्नसक्ने अडकलबाजी पनि भैरहेको छ ।
स्वास्थ्य उपचारका लागि अहिले चीनमा रहेका पुनले त्यहीँबाट महासचिवमा आफ्नो सशक्त दावेदारी रहेको संकेत दिएका थिए । काठमाडौँमा महाधिवेशन चलिरहँदा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग उपप्रमुखलाई भेटेर उनले आफूलाई चीनको समेत सद्भाव रहेको प्रष्ट सन्देश पनि दिए । तर, पछिल्लो समय शर्मालाई रोक्न पुनले विकल्पमा शक्ति बस्नेतलाई अघि सारेको चर्चा पनि छ । शक्तिका नाममा प्रचण्ड सहमत भए पुन लचक हुनसक्ने निकटहरु बताउछन् ।
“माओवादीको आधारभूमि मानिएको रोल्पाका पुन र रुकुमका शर्माबीच लामो समयदेखि ‘हार्दिकतापूर्ण सम्बन्ध’ छैन । उनीहरुको टकरावलाई ‘रोल्पा र रुकुमको लडाई’ का रुपमा पनि लिने गरिएको छ ।”
बस्नेतका नाममा सहमति हुँदा आफूले स्वीकार गर्ने अन्यथा आफ्नो दावी कायमै रहने कुरा उनले अध्यक्ष प्रचण्ड सुनाइसकेको निकटहरुको भनाइ छ । प्रचण्डले ‘वर्षमान चीनबाट फर्केपछि मात्रै पदाधिकारी चयन हुने’ बताउनुले पनि त्यही संकेत गरेको छ ।
यता, शर्माको पनि आफ्नै तयारी छ । महाधिवेशन उद्धघाटन समारोहबाटै उनले आफूलाई महासचिवको बलियो दावेदारका रुपमा अघि सारेका थिए । संगठन विभाग प्रमुख र बहालवाल मन्त्री भएकाले पनि उनलाई आफ्नो पक्षमा माहोल बनाउन सजिलो छ । केन्द्रीय सदस्यको सूची हेरेपछि शर्मा अझै उत्साहित भएको र चुनावी प्रक्रियामा गएर भए पनि महासचिव बनेरै छोड्ने तयारीमा लागेको जानकारहरु बताउछन् । शर्माले पनि पुनले जस्तै उनलाई रोक्न विकल्प अघि सारेको पनि बताइन्छ । बस्नेतको ‘काउन्टर’मा उनले पम्फा भुसाललाई समर्थन गर्नसक्ने माओवादीभित्र चर्चा छ ।
तर, महासचिवको दौडमा कसले बाजी मार्छ भन्ने धेरै हदसम्म यसमा अध्यक्ष प्रचण्डकै भूमिकामा निर्भर हुने देखिन्छ । प्रचण्डले ‘मुन्टो नहल्लाउँदासम्म’ पुन र शर्माको चाहानाले मात्रै चुनाव हुने सम्भावना न्यून छ । त्यसैले प्रचण्डको ढल्काइ जता बढी हुन्छ, महासचिवको दौड उसैले जित्ने अनुमान धेरैले गरेका छन् । स्रोतका अनुसार देव गुरुङलाई महासचिव बनाएर शर्मा र पुनलाई उपमहासचिव बनाउने प्रचण्डको चाहाना छ । अनुकूल परिस्थिति हेरेर प्रचण्डले यस्तो निर्णय लिने गरि भित्री तयारी गरेको जानकारहरु सुनाउँछन् । बताईए अनुसार गुरुङका नाममा सर्वसम्मत हुँदा आफू बाधक नबन्ने पुनको तयारी छ । तर, शर्मा भने तयार छैनन् ।
यता, महासचिवको प्रतिष्पर्धामा रहेका पुन र शर्मा दुबै माओवादीमा लगेर सबैभन्दा धेरै अवसर पाएका नेता पनि हुन् । लाभको पदमा पुग्न मरिहत्ते गर्ने गरेको आरोप लागेका दुवै पटक-पटक मन्त्री बनिसकेका छन् । आफूमात्र होइन परिवारका सदस्यहरुलाई समेत लाभको पदमा पुर्याएको दुवैमाथि आरोप छ ।
हरेक पटक माओवादी सरकारमा जाँदा पुन र शर्मामध्ये एक जना सिंहदरबार छिरेकै छन् । गत निर्वाचनमा शर्माले काठमाडौँ-१ बाट भाइ अनिल शर्मालाई उम्मेदवार बनाएका थिए भने पुनले ललितपुरबाट बैनी शुशिला पुनलाई प्रदेशसभा सदस्यमा उठाएका थिए । अनिल पराजित भए भने शुशिलाले चुनाव जितिन् । त्यसैले, अहिलेको कठिन परिस्थितिलाई नेतृत्व गर्न तुलनात्मक रुपमा इमान्दार र सर्वस्वीकार्यता भएका नेतालाई महासचिव बनाउनु पर्ने माग पनि माओवादीमा छ । यसो हुँदा पूर्वसभामुख महरा, नेताद्वय गुरुङ र भुसालमध्य एक महासचिव हुने देखिन्छ।
टिप्पणीहरू