मन्त्रीज्यू कहिले खुमलटार,कहिले बालुवाटार

मन्त्रीज्यू कहिले खुमलटार,कहिले बालुवाटार

सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई केही दिनदेखि खुमलटार र बालुवाटार आउजाउ गर्नमै फुुर्सद छैन । अस्ति बिहान सिंहदरबारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गर्नुभएका उहाँ हिजो साँझ फेरि खुमलटार पुग्नुभएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट पारित गराउने अभियानमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको दूतको रुपमा कार्कीले यसबीच दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक पटक भेट गर्नुभएको छ । उहाँहरुसँगको भेट लगत्तै प्रधानमन्त्री देउवालाई रिपोर्टिङ गर्न बालुवाटार पुग्ने गरेको सन्दर्भलाई सबैले चासोका साथ हेरेका हुन् ।

सोही क्रममा हिजो बेलुका खुमलटारस्थित दाहाल निवासमा पुगेर सञ्चारमन्त्री कार्की लगत्तै बालुवाटार फर्कनुभएको थियो । खुमलटारमा उहाँले साढे ५ बजेदेखि झण्डै एक घण्टा छलफल गर्नुभएको हो । त्यहाँबाट निस्केर बालुवाटार पुग्नुभएका कार्कीसँग प्रधानमन्त्रीले साँझको ८ बजेसम्म कुरा गर्नुभएको थियो ।

एमसीसी सम्झौता अनुमोदनको विषय पेचिलो बन्दै गएको अवस्थामा काठमाडौंस्थित अमेरिकी राजदूतावासले दाहाललाई माओवादी अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिएको छ । यसअघि एक महिनाको बीचमा भएका एमाले,काँग्रेस र राप्रपाको महाधिवेशनबाट निर्वाचित अध्यक्षहरुमध्ये केपी ओलीलाई दूतावासले औपचारिक बधाई दिएको थियो ।

टिप्पणीहरू