मुगुका किसानलाई स्याउका बोट काँटछाँट गर्न चटारो
मुगुका किसानहरु हिजोआज स्याउका बोट काँटछाँटमा व्यस्त छन् ।
हिउँदको समयमा स्याउका बोट काँटछाँट गरे अर्को वर्ष धेरै फल्ने भएकाले उनीहरु छटनीमा व्यवस्त भएका हुन् । बोट काँटछाँट नगरे साना दाना लाग्ने र झर्ने किसानहरु बताउँछन् ।
पालुवा र कोपिला लाग्नुअगावै स्याउका बोटमा निस्किएका बाक्ला र अनावश्यक हाँगा काट्नु पर्ने हुन्छ । यो वर्ष समयमा नै हिमपात भएकाले आगामी वर्ष स्याउको उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
विगतका वर्षमा असिना पानीले स्याउ उत्पादनमा ह्रास आएको थियो भने उत्पादनमा समेत कमी रहेको थियो । मुगुमा यो वर्ष समयमै हिमपात भएपछि स्याउ उत्पादन राम्रो हुने छायाँनाथ रारा नगरपालिका–४ का युवा कृषक मणिचन्द्र भामले बताए ।
उनका अनुसार विगतदेखि नै कृषि र खेतीमा संलग्न भएर कृषि क्षेत्रबाटै जीविकोपार्जन गर्न सहयोग पुगेको छ । गएको वर्ष परेको असिना पानीले स्याउ उत्पादनमा केही कमी आएको थियो । यो वर्ष समयमै हिमपात भएकाले उत्पादनमा वृद्धि हुने किसानले अपेक्षा राखेका छन् ।
मुगुको ताल्चा, बाम, रोवा, खमाले, सेरी, श्रीकोटलगायतका क्षेत्रलाई स्याउको पकेट क्षेत्र मानिएको छ ।
टिप्पणीहरू