सेनाबारे विप्लवको कोणबाट केही सल्लाह
नारायण नेपाल
प्रधानसेनापति पूर्णचन्द्र थापाले पदबहाली गरेलगत्तै देश द्वन्द्वमा फस्ने खतरा रहेको बताएका थिए । के–कस्तो द्वन्द्व भन्ने उल्लेख थिएन ।
नेपाली सेनाले आफूलाई गैरराजनीतिक, व्यावसायिक शक्ति दाबी गर्दै आएको छ । उसलाई दिएपछि विवाद कम हुन्छ भनेर ठूला आयोजना सेनाको काँधमा जिम्मा लगाउने कार्यसँगै भ्रष्टाचार मौलाउँदै गएको छ । २०१७ सालको फौजीकाण्ड, ०३६ सालको आन्दोलन, ०६२÷६३ सालको जनआन्दोलन, जनयुद्ध र शान्ति प्रक्रियाका उकाली–ओरालीमा सेनाको स्थान निर्णायक रहँदै आएको छ ।
अब नेपाली राजनीति र कूटनीतिमा कस्तो भूमिकामा देखा पर्ला हेर्नै बाँकी छ । राजनीतिमा चासो राखेसँगै सेनाले सत्ता पल्टाएको दृष्टान्त पनि दुनियाँमा नभएको कहाँ हो र ?
हाम्रो सेनामा देशभित्र र बाहिरको प्रभाव पर्नु कुनै नयाँ विषय होइन । परमाधिपति राजा वीरेन्द्र सेनाको घेराभित्रै कसरी मारिए ? नेपालको सीमारक्षा सशस्त्र प्रहरीले गर्ने हो भने नेपाली सेनाको एक मात्र काम राष्ट्रसंघको बफादार शान्ति सेनाको पहिचानमा मात्रै किन सीमित छ ? सियरालियोन र पूर्वीटिमोरमा मात्र शान्ति स्थापना गरेर के अर्थ हुन्छ यदि नेपाल राष्ट्र र नेपालीकै स्वाभिमानको रक्षा हुन्न भने । यस्ता जल्दाबल्दा सवालमा सेनाले आत्मस्वीकारोक्ति गर्न सक्नुपर्छ र आफूलाई समयअनुसार सुधार्ने आँट राख्नुपर्छ ।
पूर्वसेनापति राजेन्द्र क्षेत्रीले एक टेलिभिजन अन्तर्वार्तामा भनेका थिए, सेना र जनताको सम्बन्ध माओले भनेजस्तै माछा र पानीको जस्तो हुनुपर्छ ।
पछिल्लो विकसित घटनालाई लिएर राजनीतिक समाधान खोज्ने सेनाको सुझावका समाचार नागरिक दैनिकमा आएको थियो । सैन्य प्रवक्ता रहेको बेला यामप्रसाद ढकालले पनि नेकपालाई शान्तिपूर्ण राजनीतिमा ल्याउन राजनीतिक तवरबाटै समाधान खोज्नुपर्ने पक्षमा सेना रहेको बताएका थिए । ‘राजनीतिक विषयलाई बल प्रयोगबाट भन्दा वार्ता र सहमतिमा टुंग्याउनुपर्छ, यो नै सबैभन्दा उपयुक्त विकल्प हो,’ उनले भने, ‘द्वन्द्व व्यवस्थापनसम्बन्धी विगतका नजिरले पनि असन्तुष्ट पक्षलाई वार्ता र सहमतिबाटै टुंगोमा पुर्याएको स्पष्ट छ ।’ यो समाचारलाई लिएर सरकारले जंगी अड्डासँग प्रस्टीकरण सोध्ने समाचार पुनः प्रकाशन भएको छ ।
भारतीय नाकाबन्दी खोल्न सेनाले सैन्य कूटनीति प्रयोग गरेको दाबी गर्दै क्षेत्रीले अन्तर्वार्ता दिएका थिए ।
आज देश अराजकताको भुमरीतिर भासिँदै छ । यस्तो बेला एउटै वर्गका हुनुको कारण कुनै पनि समय क्रान्तिकारी र देशभक्तबीच गठबन्धन हुन पनि सक्छ । क्रान्तिकारी हाबी हुँदा मिल्ने र नहुँदा लड्ने क्रान्तिको नियम नै हो ।
टिप्पणीहरू