‘बिकाउ अभिभावकका कारण मेडिकल क्षेत्रमा विकृति’
नोबेल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीका अभिभावकबीच सहमति भएपछि विद्यार्थी संगठनहरुले खण्डन गरेका छन् । आन्दोलनरत विद्यार्थीका अभिभावक र कलेज प्रशासनले हिजो साँझ सहमतिपत्रमा हस्ताक्षर गरेपछि उनीहरुले विरोध गरेका हुन् ।
अभिभावक र कलेजबीच भएको सहमतिमा प्रतिविद्यार्थी मासिक १२ हजार रुपैयाँ लिईंदै आएको होस्टेल शुल्क घटाएर १० हजार रुपैयाँमा झार्नेलगायत विषयमा सहमति भएको थियो । केही बिकाउ अभिभावकले कलेजको पाँच बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेको संगठनको ठहर छ ।
संगठनले आज जारी गरेको संयुक्त विज्ञप्तिामा आर्थिक प्रलोभनमा परेर चारजना बिकाउ अभिभावकले संयुक्त विद्यार्थी संगठन, चिकित्सा शिक्षा संघर्ष समिति, पीडित विद्यार्थी र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिको अनुपस्थितिमा भएको सहमति मान्य नहुने उल्लेख छ ।
राज्यले बनाएको ऐन, कानुनको पालना गर्ने गराउने कार्य सरकारको भए पनि गत पुस ३० गते शिक्षा मन्त्रालयमा मेडिकल कलेज सञ्चालकसँग भएको वार्ताबाट पनि चिकित्सा शिक्षा आयोगले गरेको सहमति ऐनविपरीत निर्णय भएकोप्रति उनीहरुले प्रश्न गरेका छन् । मेडिकल माफियासँग मिलेर सरकारले यस्तो गरेको उनीहरुको दाबी छ ।
साथै, उनीहरुले उक्त निर्णय सच्याउन र ऐन कानुन नमान्ने माफियालाई गिरफ्तार गरि कारबाही गर्न जोडदार माग गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्नेहरूमा अखिल क्रान्तिकारी मोरङका अध्यक्ष नगेन्द्रबहादुर घिमिरे, चिकित्सा शिक्षा संघर्ष समितिका केन्द्रीय संयोजक मनीष भट्टराई, नेपाल विद्यार्थी संघ मोरङका जसवन्त पौडेल, अनेरास्ववियु मोरङका जोसेफ घिमिरे, अनेरास्ववियु मोरङका सचिव निर्मल भण्डारी र समाजवादी विद्यार्थी युनियन प्रदेश १ का उपाध्यक्ष तरुणविक्रम खवास हुन् ।
टिप्पणीहरू