किन दाइजोमा सुनचाँदी लिएको कमरेड ?

किन दाइजोमा सुनचाँदी लिएको कमरेड ?

‘विश्वभरिका मजदुर एक हौं’ यो सामान्य सोच र सामान्य विचारधारा होइन । हातमा श्रम गर्ने शक्तिबाहेक अरू केही नभएका संसारभरिका मानिस एक हुने, सामूहिक हितको निम्ति काम गर्ने र न्याय, समानतामा आधारित शोषणमुक्त समाज निर्माण गर्ने भन्ने असाधारण कुरा हो ।

सबै मानिस एकापसमा मिलेर स्वाभिमान र आत्मसम्मानपूर्वक बस्ने, सबैले उत्तिकै मिहिनेतका साथ काम गर्ने, एउटा समृद्ध र समुन्नत समाज निर्माण गर्ने भनेको मिहिनेती जनतालगायत सबै नै शान्तिपूर्वक बाँच्ने भनेको हो । मजदुर मात्रै एक हुने र अन्यमाथि अन्याय गर्ने, दमन गर्ने भनेको होइन ।

तर, के यो उद्देश्य केवल दस्तावेजको सिरानमा लेख्दैमा, नेतृत्वले भाषण गर्दैमा अथवा कार्यकर्ताले जनतालाई बताउँदैमा हासिल हुन सक्छ ? कदापि, हुन सक्दैन । यो उद्देश्य हासिल गर्न सर्वप्रथम राजनीतिक नेतृत्व राजनीतिक, साँस्कृतिक, चारित्रिक तथा वैचारिक सबै हिसाबले काबिल हुनुपर्छ र सक्षम भएको कुरा व्यवहारमा झल्कने मात्रै होइन कि त्यो सबैले अनुभूति गर्न सकिने किसिमको हुनुपर्छ ।

कम्युनिष्ट पार्टीको नेता तथा कार्यकर्ता कम्युनिष्ट विचारधारा अर्थात् सबै मजदुर एक हुनुपर्छ भन्ने विचारधाराका मान्छे हुन् भनेर चिन्ने र परख गर्ने पहिलो कुरा हो तिनीहरूको निजी सम्पत्तिप्रतिको बुझाइ र व्यवहार । हरेक कम्युनिष्टले निजी सम्पत्ति जम्मा गर्ने कुराको कहिल्यै समर्थन गर्दैन र निजी सम्पत्ति जम्मा पनि गर्दैन । के हाम्रो नेतृत्वले निजी सम्पत्ति राख्न हुँदैन भनेर मान्छ ? नेतृत्व मात्रै होइन, तलका मझौला नेता तथा कार्यकर्ताले पनि मान्छन् त ? भन्दा मान्दैनन् ।

केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ, वामदेव यी सबै नेताहरूको मनग्गे निजी सम्पत्ति छ । उहाँहरूको यो सम्पूर्ण चल अचल सम्पत्तिमध्ये सबै उहाँहरूले बिरासतमा प्राप्त गरेको पुख्र्यौली सम्पत्ति होइन । कम्युनिष्ट राजनीति गरेर सत्तामा पुगेको केही समयपछि जोडिएको सम्पत्ति हो । यो समयमा उहाँहरूको सम्पत्तिमा बृद्धि भएको हो । सबै दलका धेरैजसो नेता नवधनाढ्य बनेका छन्, धन कुवेर बनेका छन् ।

कुनै पनि प्रकारको उत्पादन कार्यमा कहिल्यै सहभागी नभएका मानिसको निजी सम्पत्तिमा यसरी बृद्धि हुनु तिनीहरूले अनैतिक तरिकाले, विचारधारात्मक दृष्टिकोणले बेठिक भनेको तरिका अपनाएर सम्पत्ति आर्जन गरेको हो भनेर बुझिन्छ । कुनै पनि नेतालाई काठमाडौंमा दुई–दुईवटा घर किन चाहिन्छ ? राजधानीबाहिर घर किन चाहिन्छ ? कम्पनीको शेयर किन चाहिन्छ ? सुन, चाँदी किन चाहिन्छ ? आफूलाई कम्युनिष्ट हुँ भनेर दावा गर्ने नेताले लाजै नमानी आफ्नो सम्पत्ति विवरणमा दाइजोमा आएको भन्दै सुनचाँदी पो देखाउँछ गाँठे ! दाइजोमा सुनचाँदी किन लिने ? निजी सम्पत्ति जोड्ने चरित्र कम्युनिष्टको हुनै सक्दैन । बुझ्नुपर्ने कुरा यो छ ।

अर्को भनेको धर्मप्रतिको दृष्टिकोण हो । कम्युनिष्टले राज्यको कुनै धर्म नहुने कुरा गर्छन् । धर्मप्रति मान्छेको आस्थालाई व्यक्तिको निजी मामिला मान्छन् र व्यक्तिको आस्थाप्रति अन्यथा व्यवहार गर्दैनन्, सम्मान गर्छन् । तर, कम्युनिष्टहरू आफूले भने धर्म मान्दैनन् र धर्मको आड लिएर अन्धविश्वास फैलाउने, राजनीतिक गतिविधि गर्ने र त्यसको सहारामा चुनाव जितेर सत्तामा पुग्ने लालसा पनि राख्दैनन् ।

धर्मको नशा र अफिमको नशा उस्तै उस्तै हुन्छ, दुबैले लठ्याउने काम गर्छ भनेर माक्र्सले भन्नुभएको छ । धर्मले गरिबलाई लठ्याउँछ, धनीलाई होइन । यसको अलावा कम्युनिष्ट विज्ञानवादी हुन्छन् । के हाम्रा नेताको दृष्टिकोण र व्यवहार तदनुकूल छ ? प्रधानमन्त्री भएको बखत बालुवाटार प्रवेश गर्दा मनमोहन अधिकारीले कालो बोको काटेका थिए । प्रचण्डले भैंसी पूजन गरे । ओलीले राम र सीताको प्रतिमामा प्राण भरे । पश्चिमतिर प्रदेशको एकजना मुख्यमन्त्रीले पनि बोका काटेर पदभार ग्रहण गरेका थिए ।

मन्दिर नजाने, पूजापाठ नगर्ने र सप्ताह, रुद्री नलगाउने कुनै नेता छैनन् । यस्तो कामले वैज्ञानिक चिन्तन प्रणालीलाई प्रोत्साहन गर्छ ? सरकारका मन्त्रीहरूले सबैभन्दा धेरै सहयोग, दान तथा चन्दा पनि मन्दिर बनाउने वा जीर्णोद्धार गर्ने कार्यमा गरेको देखिन्छ । प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको प्राथमिकता स्कुल, अस्पताल वा पुस्तकालय निर्माणमा परेको देखिन्न । यस्तो राजनीतिमा धर्मलाई छिराउने काम कम्युनिष्टले गर्दैन भन्ने बुझ्नुपर्छ ।

संविधान, पार्टी दस्तावेज तथा चुनावी घोषणापत्रमा लेखिएका विषय र विभिन्न मञ्चमा बोलिएका कुरा नै कम्युनिष्ट पार्टी र यसको नेतृत्वमा बन्ने सरकार दुवैका लागि अघि बढ्ने गाइड लाइन हो । तिनै गाइड लाइनको आधारमा अघि बढे मात्रै आर्थिक विकास गर्न सकिन्छ, सामाजिक, साँस्कृतिक विकास गर्न सकिन्छ । आर्थिक, सामाजिक तथा साँस्कृतिक विकास हुनु भनेकै देशको सर्वांगीण विकास हुनु हो र यस्तो विकासले नै देशमा समृद्धि ल्याउने र सोही समृद्धिले नै गरिखाने वर्गलाई, जनतालाई गाँस र बासको निम्ति, शिक्षा र स्वास्थ्यको निम्ति चिन्ता लिनु नपर्ने अवस्थामा लैजान्छ ।

यसरी सबैले काम पाउने, सबैले खान लाउन, पढ्न र उपचार गर्न सक्ने भएपछि त्यहाँ आपसी एकता कायम हुन्छ, भाइचारा कायम हुन्छ र गरिखाने वर्ग सबैको स्वाभिमान तथा आत्मसम्मान कायम हुन्छ । तर, कम्युनिष्ट पार्टी र पार्टीको सरकारको गतिविधि भने काशी जाने कुतीको बाटो भनेजस्तो भयो । घोषणापत्रमा शिक्षा र स्वास्थ्य निःशुल्कको कुरा गर्ने तर निजी स्कुल तथा अस्पताल खोल्न कानुन बनाइदिने यस्तो दोगला चरित्र कम्युनिष्टको हुन्न ।

घर–परिवार, इष्टमित्र, नातागोता आफन्तजन सबैका हुन्छन् । परिवारको हेरचाह र भरणपोषण गर्ने कुरा सामान्य हो– सबैले गर्छन् र गर्नुपर्छ । समाजमा नातागोता हुनु, इष्टमित्र हुनु र तिनीहरूसँग भावनात्मक सम्बन्ध हुनु, यो पनि स्वाभाविक हो । समाजको कुनै सदस्यको घरमा खुशीयाली आउँदा वा दुःख आइलाग्दा सहभागी हुने कुरा सामाजिक कुरा हो, हुनै पर्छ । तर, यसको मतलव तिनैको पक्षमा मात्रै काम गर्ने, अवसरजति तिनैलाई उपलब्ध गराउने अर्थात् भाइ, भतिजालाई प्राथमिकतामा राखेर काम गर्ने कुरा बेठिक हो । कम्युनिष्टले यस्तो काम गर्दैनन् । यस्तो चरित्र कम्युनिष्टको हुँदैन ।

तर, हाम्रोमा त्यस्तो गरेको देखिन्छ । अवसरको कुनै पनि क्षेत्रमा कम्युनिष्ट पार्टीको सदस्य प्रधानमन्त्री, मन्त्री तथा पार्टी सत्ता हाँक्ने सबैले आफ्नै परिवारको सदस्य, त्यसपछि नातागोता र त्यसपछि भक्त हनुमान जसले चाकडी र चाप्लुसी गर्छ अनि चुक्ली लगाउँछ, तिनीहरूलाई पहिलो प्राथमिकतामा पारेको देखिन्छ । क–कसका, क–कसले के–कस्ता पद पाए भन्ने कुराको त फेहरिस्त नै तयार पार्न सकिन्छ । यस्तो नातावाद–कृपावाद कम्युनिष्टको चरित्र होइन भन्ने कुरा बुझ्नुपर्छ ।

कम्युनिष्ट पार्टीको सरकारले नै शिक्षाको निजीकरण, स्वास्थ्यको निजीकरण, सार्वजनिक यातायातको निजीकरण गर्ने कामको समर्थन गर्छ भने त्यसले मजदुर वर्गको हितमा काम गर्छ भनेर कसरी मान्न सकिन्छ ? यस्तो त पुँजीवादी चरित्र हो । कुनै विकल्प नदिई नदी किनारा र सडक किनारामा छाप्रो हालेर, टहरा बनाएर बसेका सुकुम्बासीको ती टहरा र छाप्रा बुलडोजर लगाएर भत्काई ती गरिबलाई उठिबास लाउने, बिचल्लीमा पार्ने काम गर्छ भने त्यसले कसरी गरिबको हित गर्छ भनेर मान्न सकिन्छ ? यस्तो पनि दलाल पुँजीवादी चरित्र नै हो ।

कम्युनिष्ट पार्टीको पहिलो प्राथमिकता त गरिबी हटाउने हुनुपर्छ । तर त्यस्तो देखिन्न । अहिले पनि अर्थमन्त्री कम्युनिष्ट छन्, शिक्षा मन्त्री, श्रममन्त्रीहरू पनि कम्युनिष्ट नै छन् । तर, तिनले श्रमजीवी मजदुर वर्गको हितको निम्ति सिन्को भाँचेका छैनन् । हिजो पनि यस्तै नै थियोे । गरिब, मजदुर तथा सुकुम्बासीप्रति अनदेखा गर्ने, उनीहरूलाई बिचल्लीमा पार्ने कम्युनिष्ट चरित्र होइन ।

कम्युनिष्टको पहिचान सादगीपन पनि हो । श्रमजीवी वर्गले मिहिनेत गरेर, श्रम गरेर पैसा आर्जन गरेको हुन्छ । दुःख गरेर, पसिना चुहाएर, हातमा ठेला पारेर कमाएको पैसा सुखसयलमा खर्च गर्दैन । तडकभडक र उत्ताउलो भएर अनुत्पादक काममा खर्च गर्दैन । तर, हाम्रोमा के देखिन्छ भने कम्युनिष्ट पार्टीको नेतृत्वमा बसेका र सरकारमा भएकाहरू नै यस्ता कुरा गरिरहेका छन् ।

नेतृत्वको पहिरनलाई हेरौं । हातमा धेरै महँगो घडी छ, पाउमा ब्राण्डेड कम्पनीको उस्तै महँगो जुत्ता छ, ट्वीटको कोट लगाएका छन्, जुँगा र कपाल कहिल्यै नफुल्ने, सोह्र बर्षे केटोको भन्दा कालो पारेका छन्, सबैभन्दा महँगो गाडीमा हिँड्छन् । सुनौलो घेराजडित सोफासेटमा बसेर प्रवचन दिन्छन् । यिनको बैठक कोठा इन्द्रको कुरै नगरौं, सर्वहाराको नेताको होइन कि पुँजीपतिको जस्तो, धनाढ्यको जस्तो देखिन्छ । जनताले भेट्न सक्दैनन् ।

ओली, प्रचण्ड र वामदेवलाई नचिन्ने, यिनीहरूको आर्थिक, सामाजिक अवस्थाबारे नजान्ने को छ यो सानो देशमा ? यामानका सुनको लेपजस्तै लगाइएको सोफामा बसेर कसलाई देखाएको ? महँगो घडी र जुत्ता लगाएर कसलाई देखाएको ? महँगो गाडीमा सिसा बन्द गरी हुइँकिएर कसलाई देखाएको होला ? यस्तो राजषि ठाँटबाँट गर्ने चरित्र कम्युनिष्ट चरित्र होइन, हुनै सक्दैन । अर्थात् पाइला–पाइलामा गैरकम्युनिष्ट चरित्र हाबी छ ।

टिप्पणीहरू