जिल्ला टेक्नेबित्तिक्कै सिडिओले भेटे पत्रकार

जिल्ला टेक्नेबित्तिक्कै सिडिओले भेटे पत्रकार

-राजेशचन्द्र राजभण्डारी

बागलुङमा सरूवा भएर आएका नयाँ प्रमुख जिल्ला अधिकारी र क्रियाशील पत्रकारबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । भेटघाटमा प्रमुख जिल्ला अधिकारी रमेश ढकालले प्रशासन पत्रकारसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए ।

जिल्लाको समग्र विकासमासमेत पत्रकार र प्रशासन कार्यालयबीच सहकार्य रहनुपर्ने उनको धारणा छ । बागलुङमा हुने बजार अनुगमनमासमेत अनेक खालका चलखेल भएको गुनासो सर्वसाधारणको रहे पनि अहिलेसम्म सुधार हुन नसकेको गुनासो पत्रकारहरूले राखेका थिए ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा भइरहेको ढिलासुस्तीलाई ध्यान दिन, जिल्लामा श्रृङखलाबध्द चोरीलगायतका घटना बढेको हुँदा यसबारे प्रहरी प्रशासनको भूमिकालाई प्रभावकारी बनाउन सञ्चारकर्मीहरुले सुझाएका छन् ।

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन नेपालमासमेत देखिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड नियन्त्रण डिसिएमसीको बैठकले कोरोना नियन्त्रण गर्न निदेशिका जारी गरे पनि त्यसको पालना नभएको गुनासो भेटघाटमा उठेको थियो ।

गृह मन्त्रालयबाट बागलुङ जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आएका रमेश ढकालले हाजिर भएको पाँच दिनपछि पत्रकारसँग भेटघाट गरेका हुन् ।

टिप्पणीहरू