२ नम्बरले मधेश पाएकोमा प्रचण्ड औधी खुशी
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघिको प्रदेश नं. २ को मधेश प्रदेश नामकरण भएकोमा खुशी व्यक्त गर्नुभएको छ ।
आफ्नो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार मधेश नामाकरण भएको भन्दै उहाँले प्रदेशका सांसद तथा सम्पूर्ण बासिन्दालाई बधाई पनि दिनुभएको छ ।
सामाजिक सञ्जालबाट बधाई सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले भन्नुभएको छ, ‘हार्दिक बधाई ! हाम्रो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै प्रदेश नं.२ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेश प्रदेश र प्रदेश मुकाम/राजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा प्रदेश सभाका सम्पूर्ण माननीय सदस्यहरू र मधेश प्रदेशका सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु ।’
सोमबारको साविक प्रदेश २ को प्रदेशसभाको बैठकले मतदानमार्फत प्रदेश नामकरण र राजधानीको टुंगो लगाएको थियो । प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदहरुले मधेश प्रदेशको प्रस्तावमा मतदान गरेका थिए ।
प्रदेशको नामाकरण भएलगत्तै मधेशवादी दलहरुले खुशियालीमा मधेशका मुख्य शहरहरुमा दिपावली गरेका थिए भने प्रदेश सरकारले हिजो प्रदेशभर सार्वजनिक बिदा दिएको थियो ।
टिप्पणीहरू