इन्धनको भाउ घटाउन वैद्यका विद्यार्थीको माग
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।
नेपाल आयल निगमले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी कोभिड–१९ बाट ग्रसित जनतालाई आहत दिने काम गरेको भन्दै क्रान्तिकारीले अविलम्ब मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो । क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले आज विज्ञप्ति जारी मूल्यवृद्धिको विरोध गरेका हुन् ।
‘शेरबहादुर देउवा नेतृत्वको सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर कोभिड–१९ बाट प्रताडित नेपाली जनताको ढाड सेक्ने काम गर्दै आइरहेको छ । उक्त कार्यको हाम्रो संगठन घोर निन्दा एवम् भत्सर्ना गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘मूल्यवृद्धिले जनताको दैनिकी चल्न नसक्ने र चुल्होसमेत नबल्ने अवस्था सिर्जना हुन पुगेको छ, जसकारण पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न नेपाल सरकार र नेपाल आयल निगमसँग जोडदार माग गर्दछौं ।’
आयल निगमले गए मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा तीन–तीन रुपैयाँका दरले, आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर एक सय अमेरिकी डलर मूल्य बढाएको छ ।
टिप्पणीहरू