एमाले खनियो रेणुमाथि,प्रधानमन्त्रीसङ्ग मागियो जवाफ

एमाले खनियो रेणुमाथि,प्रधानमन्त्रीसङ्ग मागियो जवाफ

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेणुकुमारी यादवको पछिल्लो अभिव्यक्तिबारे प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ मागेका छन् ।

गौर नरसंहार मच्चाएर सिके राउतको हत्या गर्ने खुलेआम धम्की दिने मन्त्री यादवलाई सत्ता गठबन्धनले नै संरक्षण दिएको आरोप लगाउँदै पोखरेलले प्रधानमन्त्रीको जवाफ मागेका हुन् ।

उनले प्रधानमन्त्री देउवा गठबन्धनको बन्दी बनेको आरोप पनि लगाए । मन्त्रीले गौर नरसंहार दोर्होयाउने चेतावनी दिँदासमेत प्रधानमन्त्रीले उनलाई केही गर्न नसकेको पोखरेलको भनाइ छ ।

“अहिलेको गठबन्धनका प्रमुख सूत्रधार हुँ भन्नेले केही बोल्छन्-बोल्दैनन् ,गर्छन्-गर्दैनन् ? प्रम देउवा गठबन्धनको बन्दी बनेकै हुन् ?’

पोखरेलले भनेका छन्– गठबन्धनकी एउटी नेतृ र बहालवाला मन्त्रीले विगतमा (आफूहरूद्वारा) घटित गौर नरसंहार दोहोर्याउने उद्दण्ड हुंकार गरिन्, विगत गौर नरसंहारमा पीडित हुँ भन्ने र अहिलेको गठबन्धनका प्रमुख सूत्रधार हुँ भन्नेले केही बोल्छन्-बोल्दैनन् ,गर्छन्-गर्दैनन् ? प्रम देउवा गठबन्धनको बन्दी बनेकै हुन् ?’

मन्त्री यादवले अस्ति रौतहटमा आयोजित एक कार्यक्रममा गौर हत्याकाण्डको स्मरण गराउँदै आफूहरुसँग टकराव गरे त्यस्तै हालत बनाइने चेतावनी जनमत पार्टीका अध्यक्ष राउतलाई दिएकी थिइन् । उनको सो अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भइरहेको छ ।

उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनाधिकार फोरमले २०६३ सालमा रौतहटको गौरमा २७ जना माओवादी कार्यकर्ताको पाशविक तरिकाले हत्या गरेको थियो । उक्त घटनालाई ‘गौर हत्याकाण्ड’ भन्ने गरिएको छ ।

टिप्पणीहरू