उखान सुनाउँदा नेपालमा ताली ठोक्ने,टर्कीमा जेल जाने

उखान सुनाउँदा नेपालमा ताली ठोक्ने,टर्कीमा जेल जाने

टर्कीमा उखान सुनाएको भन्दै एक जना महिला पत्रकारलाई जेल पठाइएको छ । सेडेफ काबासलाई राष्ट्रपति रेसेप तैएप एर्दोगानको अपमान हुनेगरी उखान भनेको आरोप लागेको हो ।

त्यहाँको एउटा अदालतले चर्चित महिला पत्रकार सेडेफ काबासलाई राष्ट्रपतिको अपमान गरेको आरोपमा जेल पठाउन आदेश दिएको छ । हिजो दिउँसो राजधानी इस्तानबुलमा पक्राउ परेपछि सुश्री काबासलाई मुद्दा चलाउनुअघि नै जेलमा राख्न आदेश दिइएको हो ।

उनीमाथि राष्ट्रपति रेसेप तैयिप एर्दोगानलाई एउटा उखान लक्षित गर्दै मानमर्दन गरेको आरोप लगाइएको छ । एउटा टेलिभिजनमा बोल्दै काबासले टर्कीको पुरानो उखान अब मेल नखाने बताएकी हुन् । ‘जोसुकै पनि श्रीपेच वा पद धारण गर्दैमा विद्वान हुने पुरानो टर्किस उखानको औचित्य सकिएको छ,’ उनले अगाडि भनिन्,‘कुनै पनि साँढे दरबार छिर्दैमा ऊ राजा हुन सक्दैन, बरु त्यो दरबार एउटा गोठमा परिणत हुन्छ ।’

राष्ट्रपतिको कट्टर आलोचक उनको उक्त अभिव्यक्तिलाई लिएर टर्कीमा पक्ष र विपक्षमा चर्को बहस भएको छ । राष्ट्रपतिलाई अपमान गरेको प्रमाणित भएमा चार वर्षको जेल सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

तर अदालतमा दिइएको प्रारम्भिक बयानमा सुश्री काबासले राष्ट्रपतिलाई अपमान गर्ने आफ्नो कुनै मनसाय नभएको उल्लेख गरेकी छन् ।

एर्दोगन राष्ट्रपति बनेदेखि हजारौंलाई अपमानको आरोप लगाइएको छ । यसअघि मिस टर्कीलाई पनि त्यस्तै आरोपमा कारवाहीको आदेश भएको छ । एक हजार जनाभन्दा बढीलाई मुद्दा लगाइएको छ ।
फोटो स्रोत : एएफपी

टिप्पणीहरू