पीसीआरको पैसा बचेपछि स्थानीय खुशी

पीसीआरको पैसा बचेपछि स्थानीय खुशी

बाजुरामा पीसीआर परीक्षण निःशुल्क गर्न थालिएको छ । जिल्ला अस्पताल बाजुराले पीसीआर ल्याब सञ्चालनमा ल्याएसँगै निःशुल्क परीक्षण गर्न थालिएको हो ।

पीसीआर गर्न सबैलाई सहज होस् भनेर ल्याब सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख डा. प्रकाशराज जोशीले बताए । कोभिड संक्रमणको शंका लागेका र परीक्षण गर्ने पैसा नभएका बिरामीको निःशुल्क परीक्षण गरिने उनको भनाइ छ ।

सेवा सञ्चालनमा आएपछि एक सय ७६ जनाको पीसीआर परीक्षण भइसकेको छ । तीमध्ये ५० जनाको रिपोर्ट पोजिटिभ आएको छ । अन्यत्र सरकारी अस्पतालमा पीसीआर जाँच गरेको आठ सय र निजीमा १५ सय रुपैयाँभन्दा बढी लाग्ने गरेको छ ।

एक पटक पोजिटिभ आएपछि पटक पटक परीक्षण गर्नु पर्ने भएकाले निःशुल्क गरेका कारण आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निकै सहज भएको स्थानीय बलबहादुर रोकायाले बताए ।

यसअघि कोभिड परीक्षण गर्नुपरे धनगढी, डोटीलगायत जिल्लामा जानुपर्ने बाध्यतासमेत थियो । पीसीआर ल्याब सञ्चालनका लागि संघीय र प्रदेश सरकारले स्रोत जुटाएका हुन् ।

टिप्पणीहरू