मिल्ने मात्रै भए विप्लवले मोबाइललाई…
घुसपैठ हुन सक्ने दुश्मनको कारण सशस्त्र संघर्षमा लागेका पार्टीहरू समाप्त भएका उदाहरण अनेकन छन् । नेपालमा चाहिँ ‘दुश्मन’ भन्दा पनि डरलाग्दो बनेको छ, मोबाइल । विप्लव नेकपाले मोबाइलका कारण आफ्ना धेरै नेता–कार्यकर्ता पक्राउ परेको स्विकार्दै हालै सम्पन्न बैठकमा छलफल चलाएको बताइन्छ ।
जसरी शान्ति प्रक्रियामा आइसकेपछि माओवादीले आगामी कार्यदिशा तय गर्न विभिन्न प्रकारका विचारगोष्ठी, छलफल र अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको थियो, त्यस क्रममा पनि घुसपैठियाले मान्छे पक्राउन छाडेनन् । शान्ति प्रक्रियामा आएलगत्तै काभ्रेको दुर्गम पहाडी बस्ती कामीडाँडामा बैठक र गोष्ठी गरियो । उक्त कार्यक्रममा चीनबाट प्रोफेसर वाङ होङवेइ र भारतीय कम्युनिष्ट पार्टीका एक जना नेता आएका थिए । बैठक चलिरहेकै बेला कुनै नेत्रीले फोटो खिचेर कतै पठाइसकेकी थिइन् । चिनियाँ प्रोफेसर त समस्यामा पर्ने कुरा भएन । तर, भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का प्रतिनिधि भने कामीडाँडा बैठक सिध्याएर फर्किने क्रममा वीरगञ्जबाट अगाडि बढ्दाबढ्दै समातिए । त्यसयता भारतीय माओवादीसँग यताको सम्बन्धविच्छेद छ भने उनीहरूको आफ्नो बैठक बस्दा १० किलोमिटर परै मोबाइल बन्द गरी एक ठाउँ थुपार्ने अभ्यास छ ।
अहिले भूमिगत रूपमा गतिविधि गरिरहेको विप्लव नेतृत्वको नेकपाले यस्ता कुरामा सचेतता अपनाउँदै आफ्ना गतिविधि सञ्चालन गरेको छ । उसले नेपालको राष्ट्रिय एकताको विकल्प राजतन्त्र हुन सक्छ भन्ने सोचलाई दनक दिँदै आफ्नो पछिल्लो दृष्टिकोण ल्याएको छ । राजनीतिक प्रतिवेदनमा लेखिएको छ, ‘यो धारणामा ठूलो जनमत नभए पनि विदेशी विशेषतः भारतको चलखेल भएमा यसको खतरा छैन भन्न सकिँदैन । किनकि, भारतको जासुसी संस्था ‘र’ का पूर्वअधिकारीले हालै प्रचण्डको प्रसंगमा राजतन्त्र फालेको भारतले हो भन्ने जुन दाबी गरे त्यसले खराब संकेत गर्छ ।’ विप्लव नेकपाले ठहर गरेको छ कि, ‘मसिनो गरी हेर्दा युरोपियन युनियनको चाल राजनीतिक र सांस्कृतिक रूपले अरूको भन्दा खतरनाक देखिन्छ ।’ यसविरुद्ध जागरणका साथै भण्डाफोर आवश्यक भएको उसले ठहर गरेको छ ।
आफ्नो राजनीतिक दस्ताबेजमा लेखेको छ, ‘यतिबेलाको अन्तर्राष्ट्रिय परिस्थिति बिस्फोटक छ । कुनै पनि देशका राजनीतिक मामिला स्वतन्त्र रहन सक्ने अवस्था छैन भने विवादहरू उठिसकेपछि एक्लै चल्न सक्ने स्थिति पनि छैन । शक्ति राष्ट्रहरूका नयाँ–नयाँ मोर्चाबन्दी र ध्रुवीकरण बढ्दै गएका छन् । विश्व आजकै राजनीतिक खिचातानीमा धेरै परसम्म जान सक्ने देखिँदैन । हामीले यस्ता अन्तर्विरोधका बीचबाट नेपाली क्रान्तिलाई अगाडि बढाउने राजनीतिक कुशलता प्रदर्शन गर्नुपरेको छ ।’
पार्टीको प्रतिरोधात्मक योजनाभित्र प्राविधिक कमजोरीका कारण कम्पनी कमाण्डर महान्, दीपेन्द्र, निरन्तर, प्रज्वल, रविन, रामसिंहले सहादत प्राप्त गरेको कुरालाई उसले दस्ताबेजमा उल्लेख गरेको छ ।
टिप्पणीहरू