कारागार आउजाउ बन्द गरियो
कोरोना संक्रमण बढेसँगै जुम्लाको कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । कारागार प्रशासनले कोरोना सर्न सक्ने भन्दै कैदीबन्दीलाई आफन्तसँगको भेटघाटमा रोक लगाएको हो ।
जेलर विष्णुबहादुर महतका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भएकाले बन्द गरिएको हो । उनले भने, ‘कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार प्रत्यक्ष भेटघाट बन्द गरिएको छ । कारागारको घेराबारदेखि बाहिर कम्तिमा १५ मिटर टाढाबाट मात्रै आफन्तहरूले हेराहेर र कुराकानी गर्न सक्ने छन् ।’
अहिले कारगारामा १६ जना कैदीबन्दी बिरामी छन् । उनीहरूलाई ज्वरो आउने, टाउको र जीउ दुख्ने लक्षण देखिएको छ । कैदीबन्दीलाई औषधि खुवाए पनि कोरोना परीक्षण भने गरिएको छैन ।
कोरोनाको पहिलो र दोस्रो लहरमा जुम्ला कारागारका कैदीबन्दी प्रभावित भएका थिए । दोस्रो लहरमा उक्त कारागारका मात्रै १४ जना संक्रमति भएका थिए । त्यसमध्ये एक जनाको मृत्यु भएको थियो । अहिले कारागारमा एक जना महिलासहित एक सय १५ जना कैदीबन्दी छन् ।
टिप्पणीहरू