बाबुराम भट्टराईको शव रूखको जराभित्र भेटियो

बाबुराम भट्टराईको शव रूखको जराभित्र भेटियो

मोरङको केराबारी गाउँपालिका–८ का एक युवकको शव रुखको जराभित्र भेटिएको छ । १२ दिनदेखि बेपत्ता २६ वर्षीय बाबुराम भट्टराईको शव अस्ति दिउँसो चारकोशे जंगलमा ढलेको रुखको जराभित्र भेटिएको हो ।

रुखको जराभित्र शव भेटिएपछि उनको हत्या भएको आशंंका गरिएको छ । सडेर दुर्गन्धित बनेको अवस्थामा भेटिएको शवको आफन्त र परिवारका सदस्यमार्फत प्रहरीले पहिचान गरेको हो । हत्या गरेपछि रुखको जराभित्र लगेर शव लुकाइएको हुनसक्ने बताउँदै परिवारले घटनाको यथार्थ पत्ता लगाएर दोषीमाथि कारबाही हुनुपर्ने माग गरेको छ ।

खोर्साने–केराबारी सडक खण्डको आमजुंगी विश्वकर्मा मन्दिरदेखि झण्डै दुई किलोमिटर पूर्व र देवीझोडा जाने भित्री सडकदेखि उत्तरतर्फको चारकोशे जंगलमा शव भेटिएको हो । प्रहरीले पनि उनको हत्या भएको हुनसक्ने आशंका गरेको छ ।

पुस २३ देखि २९ गतेसम्म लागेको मच्छिन्द्र मेला हेर्न गत पुस २७ गते भट्टराई घरबाट हिँडेका थिए । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले शव पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर घटनाका बारेमा गम्भीर ढंगले अनुसन्धान थालिएको जानकारी दिएका छन् ।

उनका अनुसार शरीरका सबै भाग सडेर दुर्गन्धित बनेको अवस्थामा शव भेटिएको छ । अनुहार पनि नचिनिने गरी कुहिएका कारण सुरुमा प्रहरीले यकिन गर्न नसकेको हो । पछि आफन्त एवम् परिवारका सदस्यले शवको पहिचान गरेको जिसीले बताए ।

गाईवस्तु चराउन गएका केराबारी–८ का रामबहादुर खत्री र मनोरथ कोइरालाले कुहिएर दुर्गन्ध फैलिएको अवस्थामा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । स्थानीयका अनुसार भट्टराई केराबारी–भोगटेनी–रामपुर चल्ने सार्वजनिक बसमा सहचालकको काम गर्थे ।

मेला हेर्न भनेर घरबाट हिँडेका उनी सम्पर्कविहीन बनेपछि परिवारका सदस्यले खोजीका लागि आग्रह गर्दै इलाका प्रहरी कार्यालय बेलबारीमा उजुर दिएका थिए । उजुर गरे पनि प्रहरीले खोजतलासमा चासो नदिएको र सडेर दुर्गन्धित भइसकेपछि शव भेटिएको गुनासो आफन्तको छ ।

प्रहरीका अनुसार मेला हेर्न गएका स्थानीयले भट्टराईलाई पुस २८ गतेसम्म मेलामै देखेको बताएका छन् । स्थानीयले मेलामा केही युवाहरुसँग भट्टराईको विवादसमेत भएको प्रहरीलाई बताएका छन् । त्यस क्रममा उनको हत्या गरेर शव रुखको जराभित्र लुकाइएको हुनसक्ने प्रहरीको आशंका छ ।

घटनाको अनुसन्धान अघि बढाएको प्रहरीले पोस्टमार्टम रिपोर्ट आइसकेपछि मात्रै भट्टराईको हत्या भएको हो कि होइन भनेर यकिन हुने जनाएको छ । लामो समयदेखि बेपत्ता युवकको खोजीमा प्रहरीले चासो नदिएको र पटकपटक गुनासो गर्दा पनि सुनुवाइ नगरेको भन्दै स्थानीयले शव उठाउन केहीबेर अवरोधसमेत गरेका थिए ।

प्रहरीले घटनाको अनुसन्धान अघि बढाएर चाँडै सत्यतथ्य पत्ता लगाउने प्रतिबद्धता जनाएपछि स्थानीयले शव उठाउन दिएका हुन् । प्रहरीले स्थानीय जनप्रतिनिधिको रहोबरमा घटनास्थलबाट शव उठाएर पोस्टमार्टमका लागि धरान लगेको हो ।

टिप्पणीहरू