अवसर पाउँदा के गर्छन् उनले ?

प्रचण्डको विशेषता नै हो, हरेक बैठकमा नयाँ–नयाँ नारा, नयाँ–नयाँ एजेण्डा पेश गरिरहने, अर्को बैठक नहुँदासम्म त्यसैको वरिपरि अरुलाई घुमाइरहने ।

दस्तावेज आफैँ तयार पार्ने, प्रत्येक बैठकमा पेश गर्ने र अर्को बैठकसम्म मुलुक र पार्टीलाई त्यसैको वरपर ध्रुव्रीकृत गरिरहनेजस्ता प्रचण्डका मौलिकता एकीकृत पार्टीमा पनि देखिँदैछ । राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण, कार्यभार र कार्ययोजना पेश गरेर कार्यकर्तालाई व्यस्त बनाइदिने र अर्को बैठकमा समीक्षासहितको एजेण्डा पेश गर्ने अर्को विशेषता हो । एकताको ठ्याक्क एक वर्षपछि, अर्थात् मंसिर २९ गते पहिलोचोटि प्रचण्डले स्थायी समितिमा पेश गरेको राजनीतिक प्रतिवेदनमा त्यस्तै देखियो । हामीलाई थाहा छ– दोस्रो वार्ता भंग भएपछिको फुन्टिवाङ बैठकमा उनले रणनीतिक प्रत्याक्रमणमा जाने र सेनामाथि आक्रमण गर्ने नीति ल्याएका थिए । पुरानो सत्तासँग सम्बन्धबिच्छेद गर्ने, नयाँसत्ताका निम्ति समन्वय गर्ने नीतिअन्तर्गत संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संस्थालाई चेतावनी दिएका थिए । त्यसपछिको बैठकमा ‘२१ औँ शताब्दीको जनवाद’ एजेण्डा बनेर आयो । चुनवाङ बैठकले संसदवादी दलहरूसँग वार्ता, संवाद, लोकतान्त्रिक गणतन्त्र स्थापनाको एजेण्डा पारित ग¥यो । शान्तिप्रक्रियामा आइसकेपछि काभ्रेको कामीडाँडामा सम्पन्न बैठकबाट कूटनीतिक पहललाई अघि बढाउने नीति अगाडि सारियो, क्रान्तिकारी राजनीतिक संगठनहरूको अन्तर्राष्ट्रिय सञ्जाल रिमको बैठक पनि त्यहीँ बोलाइयो ।

बालाजु बैठकसम्म आइपुग्दा फेरि एकचोटि विद्रोहमा जानुपर्ने गरी शक्तिसञ्चयका लागि तयार रहन निर्देशन दिएर सबैलाई अल्मल्याउने काम भयो । जनमोर्चा नेपाल (नारायणकाजीहरू) सँग एकता हुनुपूर्व खरिपाटी र धोबीघाट बैठकमा अर्को छर्रा छोडियो । त्यहाँ विप्लव–वैद्यले कस्सिएर झण्डै अल्पमतमा पारेका थिए । उनी त्यसबाट उम्किए । पालुङटार प्लेनमलाई पनि तरङ्गित पारेकै हुन् । भृकुटीमण्डपमा लडाकु शिविरहरूमा भ्रष्टाचार भएकोबारे कुरा उठ्यो । त्यसलाई पनि पोष्टबहादुर बोगटी र अमिक शेरचनहरूको आयोग बनाएर टारिदिए । यद्यपि, त्यसको रिपोर्ट सार्वजनिक हुन पाएन । हेटौंडा महाधिवेशनबाट ‘व्यवस्था बद्लियो, अब जनताको अवस्था बदल्ने हो’ भन्दै उत्पादन ब्रिगेडको अवधारणा ल्याए, तर पार्टी त्यसपछि पातलिन थाल्यो । पार्टी पातलो छैन भनेर देखाउन चार हजार सदस्यीय केन्द्रीय कमिटी गठन गरियो । उता, एमालेले त्यही बेला आर्थिक क्रान्तिको बाटोमा जानुपर्ने, अर्धऔपनिवेशिक स्थितिको अन्त्य भइसकेको लाइन पास ग¥यो । प्रचण्डले परिस्थिति अनुकूल हुँदा जहिल्यै एउटा–एउटा नयाँ सोच र सन्दर्भ निकाल्ने गरेका छन् । यद्यपि, पार्टी एकीकृत भएपछि जे चाह्यो, त्यो हुने अवस्था छैन । अहिले गाँठो परेको तर नमिली पनि नहुने स्थिति छ । सबैसँग सन्तुलन मिलाएर जान सके अझै विकास गरेर जाने सम्भावना देखिन्छ । 

टिप्पणीहरू