आज १२ हजार बढी संक्रमित, ८ जना बिते

आज १२ हजार बढी संक्रमित, ८ जना बिते

केही सातायता निरन्तर बढेको कोरोना संक्रमणको आधा हिस्सा उपत्यकामै देखिएको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा छ हजार एक सय १८ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा चार हजार आठ सय ७५ जना संक्रमित थपिएका छन् ।

भक्तपुरमा पाँच सय १५ र ललितपुरमा सात सय २८ जना पुष्टि भएका हुन् । पछिल्लो २४ घण्टामा मुलुकभर १२ हजार आठ जना संक्रमित भेटिएका छन् । २५ हजार नौ सय नौ जनामा परीक्षण गर्दा उक्त संख्या भेटिएको हो । आज हालसम्मकै सबैभन्दा धेरै परीक्षण गरिएको हो ।

यो अवधिमा तीन हजार ४० जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ८९ दशमलव २ प्रतिशत रहेको छ । मुलुकभर अझै ८८ हजार नौ सय ३४ जना सक्रिय संक्रमित छन् । आज आठ जनाले ज्यान गुमाएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार छ सय ६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये तीन हजार सात जना युवायुवती छन् भने पाँच सय १३ जना किशोरकिशोरी हुन् । त्यस्तै, ११ वर्षमुनिका एक सय ८४ जना संक्रमित थपिएका छन् । चार सय ६८ जना वृद्धवृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा सक्रिय संक्रमितको संख्या ४१ हजार छ सय ३३ पुगेको छ । भक्तपुरमा पाँच हजार पाँच सय ८१ र ललितपुरमा नौ हजार छ सय ६८ जना सक्रिय संक्रमित छन् ।

टिप्पणीहरू