नारायणहिटीपछि अब सिध्याइने पालो रविभवनको

नारायणहिटीपछि अब सिध्याइने पालो रविभवनको

नारायणहिटी संग्रहालयभित्र कफी सप खोल्ने र दरबारको बंकरमा रक्सी पसल (बार) खोल्ने बतास समूहको प्रपञ्च छताछुल्ल भएको छ । सोही समूहले पशुपतिनाथको धर्मशालालाई तारे होटलमा परिणत गरेर मुनाफा कमाएको पनि देखिएको छ ।

त्यस्तै खेल काठमाडौंको रविभवनस्थित तत्कालीन नेपाल पर्यटन तथा होटल व्यवस्थापन तालिम केन्द्रमासमेत रचिएको पाइएको छ । पछिल्लो दिनमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को नाममा सञ्चालित संस्थालाई धराशायी बनाउने खेल खेलिएका केही संकेत प्राप्त भएका हुन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त संस्थाले दुई दशकदेखि ब्याचलर इन होटल म्यानेजमेण्ट कोर्स सञ्चालन गर्दै आएको हो । त्यहाँबाट स्नातक धेरै जना विश्वका चर्चित होटल र पर्यटकीय क्षेत्रमा कुशम जनशक्तिको रुपमा परिचित छन् ।

नाथमले बीटीटीएम र एमएचएम कोर्स सञ्चालन गरेपछि अरु प्रकृया भाँड्ने खेल शुरु भएको बताइन्छ । शैक्षिक र पर्यटन माफियाहरुको चंगुलमा अघिल्लो सरकारले पर्यटन मन्त्रालयका उपसचिव तथा मन्त्रीका पिए दीपककुमार थापालाई संस्थाको निर्देशक बनाएपछि खेल शुरु भएको हो । विकास समिति ऐन २०१३ बमोजिम सञ्चालित नाथमलाई धराशायी बनाउन सञ्चालक समितिबाटै विभिन्न निर्णय भएको थियो ।

२०२९ सालमा नेपाल सरकार,राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र अन्तर्राष्ट्रिय श्रम कार्यालयको परियोजनाको रुपमा स्थापित नेपाल पर्यटन तथा होटल व्यवस्थापन तालिम केन्द्र दाता संस्थाहरु बाहिरिएपछि आर्थिक स्रोतमा कमजोर भएको हो । सरकारी सीमित स्रोतमा सञ्चालन हुँदै आएको संस्थाले दुई दशकअघि नागरिक र सरकारी स्वामित्व रहने गरी नौ सदस्यीय सञ्चालक समिति गठन गरेर हस्पिटालिटी विषयमा स्नातक तहको अध्यापन गराउन थालेको थियो ।

अघिल्लो सरकार छँदा पर्यटन मन्त्रालयको ठाडो निर्देशनमा कुनै आवश्यकता र सम्भावना नभएका तीन ठाउँमा शाखा कार्यालय खोलिएपछि नाथमको दुर्दिन शुरु भएको कर्मचारीहरु बताउँछन् । विश्वविद्यालयले नाथमलाई दिनुपर्ने सम्बन्धन पर्यटन मन्त्रालयलाई दिएपछि नेपालगञ्जमा लाल्डाङ होटल म्यानेजमेण्ट,बर्दिवासमा विदेह होटल म्यानेजमेण्ट र झापाको बिर्तामोडमा पारुहाङ होटल म्यानेजमेण्टको नाम राखेर शाखा खोलिएको छ । कानुनी रुपमा आफू मातहत नभएका कार्यालयको स्थापना र त्यहाँका कर्मचारीको खर्च भने नाथमले ब्यहोर्दै आएको छ ।

“भएका शाखाको बिजोग,केन्द्रको हालत त्यस्तै हुँदा पनि मन्त्रीको क्षेत्रमा अर्को शाखा खोल्नको निम्ति चलाइएको हुटहुटीले कसको हित गर्ला ? मुलुकको कि बिचौलियाको ?”

झण्डै डेड वर्षअघि स्थापित ती शाखा प्रत्येकमा ८० देखि ९० लाख रुपैयाँका किचेन र होटलसम्बन्धी सामग्री किनिएका थिए । त्यहाँ नियुक्त कर्मचारी कामविहीन अवस्थामा छन् भने किचेन सामग्रीलाई सटर भाडामा लिएर सम्बन्धित प्रदेशमा राखिएको छ ।

मुलुकको पर्यटन क्षेत्रको विकासमा सघाउन पुर्याउने उद्देश्यले ती कार्यालय स्थापना गरिएको भए सम्भवतः चितवन,पोखरा वा धरान काठमाडौंपछि सबैभन्दा उपयुक्त स्थान भएको पक्षलाई यसअघिको सरकारले चटक्कै बिर्सिएको देखिन्छ । कार्यालय स्थापनामा गरिएको खर्च र औसतमा चार जनाको दरले भर्ना गरिएका कर्मचारीलाई मासिक दिनुपरेको तलबले पनि संस्था धराशायी हुनेतर्फ उन्मुख भएको हो ।

यता रविभवनस्थित नाथमको भवन बाहिरबाट हेर्दा दुबो र पानीको फोहोराले जति आकर्षक देखिन्छ,भित्र छिरेपछि हालत बिजोग रहेको भन्दै मन्त्रालयका सहसचिवहरुले दुःखेसो पोखेका छन् । ५२ जना कर्मचारी हुँदाहुँदै २१ जना नयाँ भर्ना गरिएको छ । आम्दानीको स्रोत साँघुरिँदै गएको अवस्थामा वार्षिक २० देखि २१ करोड रुपैयाँ घाटा रहेको छ ।

कोरोना महामारीअघि नाथमका प्रशिक्षार्थीहरुलाई राजधानीमा आयोजना हुने ठूला र महत्वपूर्ण समारोहमा सहभागी गराइन्थ्यो । ठूला तारे होटल,विदेशी दूतावासले गर्ने विशेष भोजमा त्यहाँका प्रशिक्षार्थीलाई सामेल गराउने,पर्यटन क्षेत्रका होटल,ट्राभल एजेन्सी,ट्रेकिङ एजेन्सीको निम्ति आवश्यक जनशक्ति उत्पादनजस्ता काम गर्दै आएको संस्थाका गतिविधि दुई वर्षदेखि ठप्प छ ।

तर यस्तो अवस्थामा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई वास्तविकता जानकारी नगराई अहिले सुदूरपश्चिम प्रदेशमा अर्को शाखा खोल्न नाथमका हर्ताकर्ता मरिमेटेर लागेको देखिन्छ । भएका शाखाको बिजोग,केन्द्रको हालत त्यस्तै हुँदा पनि मन्त्रीको क्षेत्रमा अर्को शाखा खोल्नको निम्ति चलाइएको हुटहुटीले कसको हित गर्ला ? मुलुकको कि बिचौलियाको ?

टिप्पणीहरू