जनसंख्या वृद्धिदर न्यून, तीन करोड पनि पुगेन

जनसंख्या वृद्धिदर न्यून, तीन करोड पनि पुगेन

नेपालको जनसंख्या झन्डै तीन करोड पुगेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै केन्द्रीय तथ्याङ विभागले नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको जानकारी दिएको हो ।

गणकले भरेका मुख्य प्रश्नावलीमा उल्लेखित विवरणका आधारमा विभागले आज प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो । आगामी ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने योजना राखेको विभागले कोरोनाका कारण थप समय लाग्ने अनुमान गरेको छ ।

जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार महिलाको संख्या एक करोड ४९ लाख एक हजार एक सय ६९ र पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार तीन सय ११ रहेको छ ।

१० वर्षमा नेपालको जनसंख्या जम्मा २६ लाख ९७ हजार ९ सय ७६ अर्थात् १०.१८ प्रतिशतले बढेको विभागले जनाएको छ । यसपटक जनसंख्या वृद्धिदर निकै कम देखिएको छ । अघिल्लो जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०.९३ प्रतिशत मात्र छ ।

जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत भदौ ३० देखि असोज १८ गते सम्म गरिएको थियो भने कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरिएको थियो ।

२०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो ।

टिप्पणीहरू