कोरोना जाँच्न बसेका स्वास्थ्यकर्मी भोकभोकै आइसोलेशनमा

कोरोना जाँच्न बसेका स्वास्थ्यकर्मी भोकभोकै आइसोलेशनमा

कैलालीको गौरिफन्टा नाकामा कोरोना संक्रमित हुँदा पनि काम गर्न खटिएका स्वास्थ्यकर्मीहरु समस्यामा परेका छन् । भारतबाट आएका नागरिकको स्वास्थ्य परीक्षण गर्न खटिएका उनीहरु आफैँ संक्रमित हुँदा खानेकुरा नपाएर भोकभोकै बस्नुपर्ने अवस्था आएपछि समस्यामा परेका हुन् ।

सीमा नाकामा कार्यरत स्वास्थ्यकर्मीमध्ये १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित स्वास्थ्यकर्मी सीमामै रहेको सुरक्षा भवनलाई आइसोलेसन बनाएर बस्दै आएका छन् । तर खाने व्यवस्था नहुँदा उनीहरू समास्यमा परेका हुन् ।

‘घर जाउँ भने परिवारलाई कोरोना सर्छ,’ गौरिफन्टा नाकास्थित स्वास्थ्य विटका संयोजक गणेश साउँदले भने, ‘परिवार सुरक्षित बनुन् भनेर यतै बसिरहेका छौं, तर यहाँ खाने व्यवस्था नै छैन, कसैले हाम्रो वास्ता समेत गरेका छैनन् ।’

सीमाको व्यवस्थापन गर्ने तीनवटै निकायलाई जानकारी गराइएको भए पनि कारोना संक्रमित स्वास्थ्यकर्मीको व्यवस्थापनमा कसैले ध्यान नदिएको उनले बताए ।

‘कोरोना संक्रमित भएर पनि बाध्य भएर भारतबाट आएका नागरिकको स्वास्थ्य चेकजाँच गराइरहेका छौं,’ स्वास्थ्य इन्चार्ज साउदले भने, ‘काम नगरौं भने भारतबाट आएकाहरु सोझै घर जाने डर छ, काम गर्न पनि समस्या भइरहेको छ ।’

पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले भने सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको बारेमा ढिलो गरी मात्रै जानकारी पाएको बताए ।

‘उहाँहरूलाई दुई चार दिनअघि नै कोरोना संक्रमण भएको रहेछ,’ मेयर थापाले भने, ‘मैले मंगलबार मात्रै जानकारी पाए, अब व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा छलफल गछौं ।’

आफू राष्ट्रियसभाको निर्वाचनका लागि धनगढी रहेको बताउँदै उनले फर्केपछि मात्रै उनीहरूको थप व्यवस्थापन गरिने बताए । तर कोरोना संक्रमण भएका स्वास्थ्यकर्मीलाई फोन गरेर आवश्यक पर्ने सामग्री खरिद गर्न भनिएको उनले बताए ।

टिप्पणीहरू