राष्ट्रियसभाको चुनाव : सुदूरपश्चिममा मतदान सकियो, अन्यत्र अन्तिम चरणमा
राष्ट्रियसभा निर्वाचनको मतदान अन्तिम चरणमा पुगेको छ । सुदूरपश्चिम प्रदेशमा मतदान सकिएको छ भने अन्य प्रदेशमा अन्तिमतिर पुगेको छ । निर्वाचन आयोगले मतदानका लागि बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्मको समय दिएको छ ।
राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख मतदाता हुन् । सात प्रदेशमा जारी मतदानका लागि आयोगले आठ मतदानस्थल र १४ केन्द्र तोकेको छ । जहाँ प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि मतदान गर्ने छुट्टाछुट्टै व्यवस्था मिलाइएको छ ।
यसैबीच प्रदेशसभातर्फका ९३ र स्थानीय तहतर्फ दुई सय ७४ मतदाता रहेको १ नम्बर प्रदेशमा मतदान अन्तिम चरणमा पुगको छ । हालसम्म तीन सय ५१ जनाले मत खसालिसकेका छन् भने १३ जनाले मत खसाल्न बाँकी रहेको बताइएको छ ।
त्यस्तै, मधेश प्रदेशमा ८८ दशमलव ४४ मत खसेको छ । तीन सय ७२ जना मतदाता भएको मधेशमा हालसम्म तीन सय २९ ले मत खसालेको छन् । त्यस्तै, बागमती प्रदेशमा तीन सय ३९ जनाले मतदान गरिसकेका छन् । तीन सय ४६ जना मतदाता रहेकोमा सात जनाले मात्र भोट हाल्न बाँकी छ ।
त्यसैगरी, गण्डकीमा ९३ प्रतिशत भोट खसिसकेको छ । दुई सय २९ मतदातामध्ये दुई सय १२ ले मत हालेका छन् । दुई सय ९६ मतदाता रहेको लुम्बिनी प्रदेशमा दुई सय ८९ ले मत खसालेका छन् भने कर्णालीमा एक सय ९१ मतदातामध्ये अब पाँच जनाले मात्र भोट हाल्न बाँकी छ ।
दुई सय २७ मतदाता रहेको सुदूरपश्चिम प्रदेशमा सतप्रतिशत मत खसेको छ ।
राष्ट्रियसभाको रिक्त १९ सीटका लागि भएको निर्वाचनको नतिजा आजै सार्वजनिक हुने आयोगले जानकारी दिएको छ ।
टिप्पणीहरू