भूगर्भ विभागका महानिर्देशक भ्रष्ट्राचार मुद्धामा डामिए
खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक घिमिरेविरुद्ध एक अर्ब २४ करोड ४५ लाख २६ हजार ६४३ रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
राजस्वमा घाटा गराई भ्रष्टाचार गरेको आरोपमा आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । घिमिरेले विभिन्न ९ वटा सिमेन्ट उद्योगले खानी दोहन गरी उत्खनन् अनुमतिपत्रमा तोकिएको परिणामभन्दा बढी चुनढुंगा निकालेकोमा छानविन समितिको प्रतिवेदनले तोकेअनुसार क्षतिपूर्ति नलिइ राजस्वमा घाटा गराई भ्रष्टाचार गरेको आयोगको दाबी छ ।
आयोगले घिमिरेसहित अन्य १८ जनालाई पनि भ्रष्टाचारको आरोपमा मुद्धा दर्ता गरेको छ । भू–गर्भ विभागका सुपरीटेन्डेन्ट माइनिङ इन्जिनियर जयराज घिमिरे, कानुन उपसचिव सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, सिनियर डिभिजनल मेकानिकल इञ्जिनियर प्रशान्त बोहरा, सिनियर जिओलोजिस्ट धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत वसन्त अधिकारी र जिओलोजिष्ट डा. सौनक भण्डारीविरुद्ध मुद्धा दर्ता भएको हो ।
खानी तथा चुनढुंगा दोहनमा सञ्चालकसँग मिलेमतो गरी सरकारी राजश्व चुहावट गरेको आरोप उनीहरुमाथि लागेको छ । यसैगरी, ९ वटा कम्पनीका ९ जना सञ्चालकविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।
सर्वोत्तम सिमेन्टका प्रबन्ध सञ्चालक विष्णुप्रसाद न्यौपाने, सिद्धार्थ मिनरल्स प्रालिका पशुपति मुरारका, मारुती सिमेन्टका शरद गोयल, अन्नपूर्ण कोएरिज प्रालिका ऋषि अग्रवाल, उदयपुर मिनरल्स टेक प्रालिका प्रवलजंग पाण्डे, युनाइटेड सिमेन्ट प्रालिका नरेश दुगड, सोनापुर मिनरल्स प्रालिका निपेश टायल, कञ्चल कोयरिज प्रालिका भीमबहादुर थापा क्षेत्री र दोलोमाइट चुनढुंगा प्रालिका सञ्चालक मानबहादुर श्रेष्ठविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ ।
आयोगले उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र दफा ७ को देहाय (क) र देहाय (ख) बमोजिमको कसूरमा ऐ. ऐनको दफा ७ ले निर्धारण गरे बमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम सजाय हुनुपर्ने मागदाबी गरेको छ ।
टिप्पणीहरू