‘एमालेको विरोध गर्ने, सूर्य चिन्हलाई माया मार्नै नसक्ने माओवादीहरु !’

‘एमालेको विरोध गर्ने, सूर्य चिन्हलाई माया मार्नै नसक्ने माओवादीहरु !’

नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा युवा नेत्री ईश्वरी जीएमले एमालेको विरोध गर्ने तर सूर्य चिन्हलाई माया मार्नै नसक्ने माओवादीहरूलाई एमाले प्रवेश गर्न आग्रह गरेकी छन् ।

निर्वाचन आयोगले सूर्य चिन्ह खोस्दैछ भनेर माओवादी कार्यकर्ताहरूले अझै पनि कू–प्रचार गरिरहेको उनले आरोप लगाएकी छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादकालमा एमालेको सूर्य चिन्ह ताक्दै माओवादी नेताहरू कम्मर कसेर लागेको केन्द्रीय सदस्य जीएमले बताइन् । ‘पोहोर यहि ताका पनि (नेकपाको विवाद कालतिर) सूर्य चिन्ह हाम्रो हुनुपर्छ भनेर माओवादी केन्द्रका कमरेडहरू कम्मर कसेर लाग्नुभएको थियो तर भएन । अहिलेपनि माओवादीका कमरेडहरू नै निर्वाचन आयोगले एमालेको सूर्य चिन्ह खोस्दैछ भनेर कू–प्रचार गरिरहनुभएको छ,’ जीएमले भनेकी छन्, ‘सूर्य चिन्हको यति धेरै माया भए एमालेमै प्रवेश गरे राम्रो हुन्छ नि ! एमालेको विरोध गर्ने तर सूर्य चिन्हलाई माया मार्नै नसक्ने त सुहाएन ! हेक्का रहोस्, सूर्य चिन्ह एमालेकै हो र कालान्तरसम्म एमालेकै भइरहनेछ ।’

सूर्य चिन्ह एमालेकै भएको र कालान्तरसम्म पनि भइरहने उनको दाबी छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको ‘गठबन्धन सरकार’ ले तीनै तहको निर्वाचन दुई वर्षपछि धकेले पनि एमाले फेरि पहिलो पार्टी बन्ने बताएकी छन् ।

सरकारले आफू अनुकूल व्याख्या गरेर स्थानीय निर्वाचन सार्न खोजेको टिप्पणी गरेकी छन् । ‘परमादेशी सरकारले संविधानलाई आफू अनुकुल व्याख्या गरेर स्थानीय निर्वाचन मात्रै होइन,’ उनले भनेकी छन्, ‘तीनै तहको निर्वाचन दुई वर्षपछि धकेले पनि एमाले पुनः पहिलो पार्टी बन्ने नै हो ।’

टिप्पणीहरू