सिकेका कार्यकर्ताले डाक्टरमाथि हात हालेपछि चिकित्सक संघ भड्कियो

सिकेका कार्यकर्ताले डाक्टरमाथि हात हालेपछि चिकित्सक संघ भड्कियो

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकताले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सतिश साहमाथि हातपात गरेको घटनाप्रति सरकारी चिकित्सक संघले भर्त्सना गरेको छ । संघले आज बिज्ञप्ति प्रकाशित गर्दै घटनाका दोषीलाई कारबाही गर्न पनि सरकारसंग माग गरेको छ ।

अस्पतालको गाडीमा सवार रहेका साहमाथि हिजो जनमत पार्टीका कार्यकर्ताहरुले आक्रमण गरेका थिए । गाडीको झ्यालको सिसा फुटाएर ज्यानै लिने गरि सिकेका कार्यकर्ताले आक्रमण गर्दा साहको टाउकोमा आठ वटा टाका लगाइएको थियो ।

संघले डाक्टरमाथिको यो आक्रमणले राजनीतिका नाममा व्याप्त रहेका असामाजिक तत्त्वहरूलाई नङ्ग्याइदिएको बताएको छ । ‘चिकित्सकलगायत स्वास्थ्यकर्मीको सबैभन्दा बढी महत्त्व रहेको यस महामारीको घडीमा चिकित्सक, स्वास्थ्यकर्मीलगायत सम्पूर्ण राष्ट्रसेवकको मनोवल घटाउने खालको गतिविधिले सबैलाई स्तब्ध तुल्याएको छ’, संघले भनेको छ ।

चिकित्सकमाथि आक्रमण गर्नेलाई मानव अधिकार हनन्, ज्यान मार्ने प्रयास र अत्यावश्यक सेवामा अवरोधको मुद्दा चलाउन संघले माग गरेको छ । साथै घटनाका दोषीलाई नियमानुसार गैरजमानती हिरासतमा खारेर कडा कारवाही गर्न सरकारलाई भनेको छ ।

माग पूरा नभएमा थप विरोधका कार्यक्रम ल्याउने चेतावनी संघले दिएको छ ।

टिप्पणीहरू