डाक्टर कुट्ने सिकेका कार्यकर्ता पत्रकारतिर ढल्किए

डाक्टर कुट्ने सिकेका कार्यकर्ता पत्रकारतिर ढल्किए

सिके राउत नेतृत्वको जनमत पार्टीको भातृ संगठन प्रेस जनमत संघले पत्रकारमाथि भएको प्रहरी दमनको भर्त्सना गरेको छ । किसान आन्दोलनका क्रममा हिजो जनकपुरधाममा प्रहरीले पत्रकारमाथि दमन गरेको भन्दै उसले आपत्ति जनाएको हो ।

जनमत पार्टीले गरेको शान्तिपूर्ण प्रदर्शनको समाचार संकलन गर्न पुगेका स्थानीय पत्रकार सिबेन्द्र रोहितामाथि सुरक्षाकर्मीले कुटपिट गरेको र मोबाइल फुटाइदिएको प्रेस जनमतको जिकिर छ । आन्दोलनकारीमाथि प्रहरीले दमन गरिरहेको दृष्य खिच्दै गर्दा प्रहरीले पत्रकार रोहिताको मोबाइल फुटाएको उसले दाबी गरेको छ ।उक्त घटनाको विरोधमा प्रेस जनमतका अध्यक्ष बीपी साहले विज्ञप्ति निकालेर सत्यतथ्य छानविन गरी पत्रकार रोहितालाई क्षतिपुर्ति उपलब्ध गराउन र दोषीलाई कारवाही गर्न माग गरेका हुन् ।

यता, हिजो सिकेका कार्यकर्ताले महोत्तरीको प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल सुपरटेन्डन्ट (मेसु) डा. सतीश कुमार साहमाथि आक्रमण गरेका थिए । राष्ट्रियसभा निर्वाचनका विरुद्ध प्रदर्शनमा उत्रिएका उनीहरुले जनकपुरको पिडारी चोकमा साहमाथि आक्रमण गरि घाइते बनाएका थिए ।

आक्रमणमा परी साहको मुखमा आठ वटा टाँका लगाएर उपचार गरिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको थियो । आफू स्वास्थ्यकर्मी भएको बताउँदा बताउँदै राउतका कार्यकर्ताले चिर्पट प्रहार गरेको साहले बताए ।

टिप्पणीहरू