अमेरीकन ब्राण्डको नक्कली मास्क बेच्नेहरु पक्राउ
कोरोना महामारीको संक्रमण बढिरहेका बेला नक्कली मास्क बेच्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्सबाट अमेरीकन ब्राण्ड थ्रीएम मास्कको नक्कल गरी उस्तै देखिने कम गुणस्तरको माक्ससहित चार जनालाई प्रहरीले हिजो समातेको हो ।
६ हजार १ सय १४ थान थ्रीएम मास्कसहित पक्राउ पर्नेहरुमा महालक्ष्मी इशान इन्टरप्राइजेजका सञ्चालक ललितपुर टिकाथलीका ३४ वर्षीय बुद्दि बहादुर कार्की, काठमाडौं भोटेबहाल बस्ने भारत राजस्थान घर भएका नक्कली थ्रीएम मास्क सप्लायर्स २० वर्षीय यश अग्रवाल, २० वर्षीय श्री यान्स लावटी र ललितपुर सातदोबाटो बस्ने अनेष्ट सप्लायर्सका म्यानेजर संखुवासभा सभापोखरी गाउँपालिका–१ का २३ वर्षीय मुक्ति प्रसाद पोखरेल रहेका छन् ।
काठमाडौं उपत्यकाको बिभिन्न स्थानमा थ्रीएम मास्क तथा थ्रीएम हेल्थक्येर युएसको नक्कल गरी कम गुणस्तरका माक्स बिक्री बितरण गरेको भन्ने बिशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले महालक्ष्मी र अनेष्टमा जाँच गर्ने क्रममा गुणस्तरको मास्क फेला पारि समातेको प्रहरीले बताएको छ ।
महालक्ष्मीबाट ४ हजार १ सय ९४ थान र अनेष्टबाट १ हजार ९ सय २० थान नक्कली थ्रीएम मास्क पनि प्रहरीले बरामद गरेको छ ।
टिप्पणीहरू