देउवा बैठकमा जानुअघि प्रचण्ड र माधव बालुवाटारमा
स्थनीय तह निर्वाचनबारे छलफल गर्न सत्ता गठवन्धनका तीन शीर्ष नेताबीच भेटघाट भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको हो ।
स्थानीय तहको निर्वाचन, राष्ट्रियसभा निर्वाचनको समीक्षा तथा अन्य समसामयिक राजनीतिक घटनाक्रमबारे तीन नेताबीच छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । साथै, प्रधानमन्त्री देउवाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटबारे प्रचण्ड र नेपाललाई जानकारी गराउनुभएको पनि बताइएको छ ।
संविधान र ऐन बाझिएका कारण स्थानीय तह निर्वाचनको मिति तोक्नेबारे सत्ता गठबन्धनमा सहमति जुटेको छैन । स्थानीय तह निर्वाचन ऐन २०७३ मा कार्यकाल सकिनु दुई महिनाअघि नै स्थानीय तह निर्वाचन हुनुपर्ने उल्लेख छ । तर, संविधानमा कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गरे हुने लेखिएको छ । गठबन्धनले ऐनलाई संविधानअनुसार बनाउने तयारी गरेको छ ।
तर, प्रमुख प्रतिपक्ष एमालेसहित कांग्रेसमै पनि स्थानीय तहको निर्वाचन ऐनअनुसार हुनुपर्ने आवाज उठिरहेको छ । निर्वाचन आयोगले पनि बैशाखमा चुनाव गर्न सरकारलाई अप्रत्यक्ष दबाब दिइरहेको छ ।
यसैबारे छलफल गर्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । भर्चुअल माध्यमबाट बस्ने बैठकले स्थानीय तह निर्वाचनबारे महत्वपूर्ण निर्णय गर्ने भनिएका बेला त्यसअघि प्रधानमन्त्री र गठवन्धनका दुई प्रमुख नेताबीच भएको भेटलाई चासोका साथ हेरिएको छ ।
टिप्पणीहरू