ठेकेदारले ढुवानी नगर्दा मुगुमा चामल अभाव
मुगुको उत्तरी भेगमा पर्ने खत्याड गाउँपालिकाको रातापानीमा रहेको खाद्य बिक्री केन्द्र दुई वर्षदेखि रित्तै अवस्थामा छ । नेपाल खाद्य संस्थान रातापानी बिक्री केन्द्रको ढुवानीको जिम्मा पाएको सिद्धार्थ ढुवानी सेवा कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको दुई वर्ष बितिसक्दा पनि खाद्यान्न नपुर्याउँदा रित्तो अवस्थामा पुगेको हो ।
कम्पनीले समयमै खाद्यान्न नपर्याउँदा उपभोक्ताले सास्ती खेप्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय मुगुले जनाएको छ । कार्यालयका अनुसार ठेक्का पाएको सिद्धार्थ कन्स्ट्रक्सनलाई पटकपटक चिठी काट्दासमेत अटेर गरेका कारण यो अवस्था आएको हो ।
दुई वर्षसम्म खाद्यान्न नपुर्याउने ठेकेदारलाई विभागले कुनै कारबाही गर्न सकेको छैन । गत वर्षको असोजमा सम्झौता भई आर्थिक वर्ष २०७७/७८ मसान्तसम्म सम्झौता बमोजिम ठेकेदारले ७५० क्विन्टल चामल बिक्री केन्द्रमा पुर्याउनुपर्ने हो ।
तर, दुई वर्षसम्म पनि चामल नपुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।
सिद्धार्थ कम्पनीले भने समन्वय अभावका कारण चामल पुर्याउन नसकेको बताएको छ । कम्पनीले हाल कर्णालीका जुम्ला, कालीकोट र मुगुमा खाद्यान्न ढुवानीको जिम्मा लिँदै आएको छ ।
रातापानी बिक्री केन्द्रमा दुई वर्षसम्म चामल नपुग्नुको कारण त्यहाँको स्थानीय सरकारसमेत जिम्मेवार देखिएको छ । गाउँपालिकाले अनुमति नदिने तथा चामल पुर्याईहाले पनि मुचुल्का नगरिदिँदा समस्या हुने गरेको बताइन्छ । कच्ची सडकका कारण पनि खाद्यान्न ढुवानीमा समस्या भएको बताइएको छ ।
टिप्पणीहरू