नयाँ वर्षमा चीन–नेपाल सम्बन्ध कसिलो बनाउने प्रयास

नयाँ वर्षमा चीन–नेपाल सम्बन्ध कसिलो बनाउने प्रयास

पर्सि मंगलबारदेखि चिनियाँ नयाँ वर्ष प्रारम्भ हुँदैछ । बसन्त पर्वको नामले प्रख्यात यो चाड काठमाडौंस्थित चिनियाँ समुदायले पनि मनाउने तयारी छ । कतिपयले यो अवसरमा विभिन्न कार्यक्रमको आयोजना समेत गरेका छन् ।

इमर्जन म्यानडरिन एकेडेमीले चिनियाँ नयाँ वर्षको स्वागत गर्दै ललितपुरमा हालै एक कार्यक्रमको आयोजना गरेको छ । झम्सिखेलस्थित हानयुआन चिनियाँ फुड रेस्टुरेन्टमा कार्यक्रम भएको हो ।

कार्यक्रममा एकेडेमीका विद्यार्थीहरु अन्य आमन्त्रित सहभागी थिए । चिनियाँ भाषाको अध्ययन गरेकादेखि सामान्यसम्म र साना भाइ बहिनीदेखि बृध्दबृध्दासम्मको सहभागितामा कार्यक्रम मनाइएको हो ।

कार्यक्रममा एकेडेमीकी संस्थापक प्रमिला तामाङले सहभागीहरुलाई चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा खाइने थाङ युआन (एक प्रकारको चिनियाँ मिठाई परिकार) बनाउने तरिकाको बारेमा जानकारी गराएकी थिइन् । त्यसैगरी चिनियाँ ओपेरा मास्क पेन्टिङ र परम्परागत पेपर कटाई शैलीलाई पनि धेरैले रुचाएका थिए ।

त्यसअवसरमा चिनियाँ पर्वमा खाइने खानाहरुको महत्व,ओपेरा मास्क पेन्टिङमा प्रयोग गरिने रंगहरुको विशेषता र पेपर कटाई शैली, चिनियाँ नयाँ वर्षमा गरिने अभिवादन इत्यादिबारे सचित्र व्याख्या गरिएको थियो । यस्ता कार्यक्रमबाट धेरै नेपालीले चीनको बारेमा थप जान्न, चिनियाँ परम्परागत संस्कृति बुझ्न र अनुभव गर्न सक्ने एकेडेमीले विश्वास लिएको छ ।

इमर्जन म्यानडरिन सन् २०२० मा प्रमिला तमाङ्ग (चिनियाँ नाम मिला) द्वारा स्थापना गरिएको एकेडेमी हो । सन् २०१९ मा चीनको हेबेई नर्मल युनिभर्सिटीबाट स्नातक गरेपछि उनी चीन र नेपालबीचको सांस्कृतिक आदानप्रदान,अनुवाद र चीन र नेपालबीचका विभिन्न गतिविधिमा सहभागी हुँदै आएकी छन् ।

यतिखेर उनी काठमाडौंमा एक चिनियाँ शिक्षकको भूमिकामा छन् । उनले आफूले चीन र नेपालबीचको सांस्कृतिक आदानप्रदानमा योगदान पुर्याउन चाहेको बताउँदै आएकी छन् । नेपाली जनतालाई परम्परागत चिनियाँ संस्कृतिको आकर्षणको आनन्द गराउन विभिन्न माध्यमबाट सीमानाबाट बाहिर ल्याउन खोजेको उनको भनाइ छ ।

टिप्पणीहरू