मनाङमा खोप नलगाउनेलाई प्रवेश प्रतिबन्ध
हिमाली जिल्ला मनाङमा खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई प्रवेशमा प्रतिबन्ध गरिएकाे छ । जिल्लामा कोरोनाको संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले यस्तो निर्णय गरेको छ ।
बाह्य जिल्लाबाट संक्रमितहरु आउन सक्ने जोखिम रहेकाले यस्तो निर्णय गरेको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए । कोभिडको संक्रमण फैलन नदिन मनाङ प्रवेश गर्ने नासोँ गाउँपालिका १ स्थित तालडाडाँमा एन्टिजेन परीक्षण गर्ने र हेल्थ डेस्क राख्ने निर्णय भएको पनि उनले बताए ।
स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्यले कोभिडविरुद्धको खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई मनाङ प्रवेश गर्न नदिइने निर्णय भएको बताए ।
जिल्ला कोभिड-१९ संक्रमण व्यवस्थापन समिति र जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सम्बन्धित स्थानीय तहमार्फत मनाङ प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षणको व्यवस्था गर्ने निर्णय पनि गरेको छ । अस्तिसम्म शुन्य संक्रमित रहेको मनाङमा हिजो ङिस्याङ गाउँपालिकाका एक २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासन तातेको हो।
नासों गाउँपालिका-१ तालडाडाँमा हेल्थ डेस्क राखेर अनुगमन गर्ने, मास्क नलगाउनेलाई लगाउन लगाउने र मास्कहरु वितरण गर्ने, सार्वजनिक यातायातमा अनुगमन गरेर अनिवार्य रुपमा मास्क लगाउनलाई अभिप्रेरित गर्ने निर्णय पनि बैठकले गरेको प्रजिअ आचार्यले बताए ।
टिप्पणीहरू