प्यारालाईसिसले थलिएका हवल्दारलाई नगद सहयोग

प्यारालाईसिसले थलिएका हवल्दारलाई नगद सहयोग

जिल्ला प्रहरी कार्यालय पर्वतले कार्यक्षेत्रमा खटिएका बेला स्वास्थ्यमा समस्या देखिएका एक प्रहरी हवल्दारलाई उपचार खर्च उपलब्ध गराएको छ । शुरुमा उच्च रक्तचाप भएर उपचार गराउँदा पछि प्यारालाइसिस भएपछि उनको उपचारमा आर्थिक अभाव हुन् नदिन जिप्रकाले १ लाख ४३ हजार ८ सय ८० रुपैयाँ नगद सहयोग गरेको हो ।

प्रहरी हवल्दार लिल बहादुर घर्तिलाई डियुटीमा खटिएको समयमा उच्च रक्तचाप भएपछि मणिपाल अस्पताल पोखरा लगिएको थियो । त्यसपछि थप उपचारका लागि प्रहरी अस्पताल महाराजगंजमा लगिएकोमा त्यहिँ प्यारालाईसिस भएको हो । । प्यारालाईसिसले शरिरको बाँया भाग नचल्ने अवस्थामा रहेको र उनको हाल स्याङ्जा वालिङ बजारस्थित एक निजी अस्पतालमा दैनिक थेरापी भई उपचार गराई रहेकोले आर्थिक सहयोग गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

घर्तिलाई जिल्ला प्रहरी कार्यालय पर्वत तथा मातहतमा रहेका विभिन्न युनिटहरुबाट उपलव्ध रकमबाट आर्थिक सहयोग गरिएको हो । उनलाई हिजो एक कार्यक्रमका बीच नगद हस्तान्तरण गरिएको हो । जिप्रकाका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीमार्फत घर्तिकी श्रीमतीलाई सहयोग रकम हस्तान्तरण गरिएको सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

घर्तिको परिवारलाई ईलाका प्रहरी कार्यालय हुवासले पनि ४९ हजार रकम सहयोग गरेको छ ।

प्रहरी हवल्दार घर्ति प्रहरी चौकी बिरेठाटी कास्कीमा दरबन्दी भई तत्काल प्रहरी चौकी सेतिबेणी पर्वतमा कार्यरत थिए । उनलाई पुस १ गते डियुटीमा खटिएको समयमा स्वास्थ्यमा समस्या आएको थियो ।

टिप्पणीहरू