पसल फुटाएर मोबाइल चोर्नेहरुको साथमा गाँजा
बारामा पसल फुटाएर मोबाइल चोरेको आरोपमा प्रहरीले पाँच जनालाई समातेको छ । प्रसौनी गाउँपालिका–२ स्थित शुभश्री मोबाइल पसल फुटाई मोबाइल चोर्नेहरु समातिएका हुन् ।
पक्राउ पर्नेहमा प्रसौनी गाउँपालिका–१ प्रसौनी टोलका २४ वर्षीय विशाल मुखिया, २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७ वर्षीय पवन पटेल र सोही गाउँपालिका–४ खटुवा टोलका २३ वर्षीय रम्तुलाह अन्सारी हुन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पसल फुटाई विभिन्न कम्पनीका मोबाइल चोरी भएको खबर प्रहरीले पाएपछि खानतलासी शुरु भएको हो । प्रहरीले विशाल मुखियाको घर तलासी गर्दा उनी सुत्ने खाट मुनि तीन वटा झोलामा लुकाई राखेको अवस्थामा विभिन्न कम्पनीका ९४ थान मोबाइल सेट, ब्याट्री, चार्जर, राउटर फेला पारेको हो ।
त्यस्तै, सोही घरको पहिलो तलामा रहेको चामलको बोराभित्र ६ किलोग्राम गाँजासमेत बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ । पक्राउ परेका पाँचै जनाविरुद्ध डाँका मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू