मुना पाउरोटीमा यस्तो भेटिएपछि …
चितवनको भरतपुर–३, बेलचोकमा मुना पाउरोटी उद्योग छ । हाइफाइ स्पेशल ब्रेड, नरम रोल, बम पाउरोटी, बर्गर पाउरोटी, पफ, बिस्कुट आदि उत्पादन गर्दै आएको सो उद्योगले आफ्नो उत्पादनमा लेबल विवरण नराखी बिक्री–वितरण गर्दै आएको र त्यहाँ सरसफाइ पनि राम्रो नभएको भन्ने उजुरी जिल्ला प्रशासन कार्यालयमा परेको थियो । सहायक सिडिओ चिरञ्जीवी शर्माको नेतृत्वमा गत सोमबार अनुगमन टोली त्यहाँ पुग्दा जस्तो उजुरी, त्यस्तै भेटियो पनि ।
बजारमा पठाउन ठिक्क पारेर राखिएका नरम रोल, बम पाउरोटी, बर्गर पाउरोटी, पफ, बिस्कुटहरुमा ब्याच नम्बर, उत्पादन मिति, उपभोग्य मिति लेखिएको पाइएन । खाद्य अनुज्ञापत्रसमेत लिएको नपाइएको पाउरोटी उद्योगले दर्ता कागजात पनि तत्काल देखाउन सकेन । सरसफाइमा पनि राम्रो अवस्था देखिएन । समग्रमा पाउरोटी उद्योगको मापदण्ड उसले पूरा गरेको नदेखिएको हो । हाइफाइ स्पेशल ब्रेडमा उत्पादन भएको भन्दा एक दिनपछिको उत्पादन मिति लेखेर टाँस्ने गरेको भेटियो ।
त्यसपछि संयुक्त बजार अनुगमन समितिका संयोजक रहेका सहायक प्रजिअ शर्माले सो उद्योगको उत्पादन तथा बिक्री–वितरण तत्काल बन्द गर्न निर्देशन दिए । सामान्य ऐनले नभेट्ने काम गरेको भन्दै उसमाथि ठूलै कारबाही हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी बताउँछन् ।
अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्यामकुमार बस्नेत, घरेलु तथा साना उद्योग कार्यालयकी कर्मचारी रञ्जु भट्ट, भरतपुर महानगरपालिकाका अधिकृत चन्द्रप्रसाद आचार्य, उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु भुसाललगायत पत्रकार पनि सहभागी थिए ।
– अजय गोर्खाली
टिप्पणीहरू