नक्कली नोट बोकेर हिँड्ने सशस्त्रको फन्दामा
बारामा सशस्त्र प्रहरीले नक्कली नोटसहित एक युवकलाई समातेको छ । सिम्रौनगढ नगरपालिका २ नइका टोला बजारबाट हरिहरपुर जाने बाटोको मध्यभागमा चेक जाँच गर्ने क्रममा नक्कली नोट बोकेका युवकलाई सशस्त्रको टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका ७, पिपरियाका ३२ वर्षे युवक किशोरी साह हुन् । उनी ना. २५ प १९८७ नम्बरको मोटरसाइकलमा हरिहरपुर जाँदै गरेको अवस्थामा गोलागञ्जमा समातिएका हुन् ।
बाराको गोलागञ्ज १२ नम्बर गणबाट सई हिमलाल सुनारको नेतृत्वमा खटिएको टोलीले उनलाई समातेको हो । पक्राउ परेका साहको साथबाट मोटरसाइकल एक थान, सक्कली १२ हजार १ सय ५४ रुपैयाँ र २ लाख ९६ हजार रुपैयाँ बराबरको नक्कली नेपाली नोट बरामद गरेको हो ।
उनले १ हजार दरका २ सय ९६ थान नक्कली नेपाली नोट बोकेका थिए । हिजो पक्राउ परेका साहलाई सशस्त्रले हिजै इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाएको हो ।
टिप्पणीहरू