पर्वतमा काठ चोर समातिए
पर्वतमा सल्लाको काठ थुपारेका एक जनालाई प्रहरीले समातेको छ । उनलाई आज बिहान जलजला गाउपालिका २ साममारेबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय अर्जुनबहादुर विश्वकर्मा हुन् । उनले आफ्नो घरबाट अन्दाजी एक सय मिटर पश्चिमतर्फ रहेको टहरोमा सल्लाको चिरान काठ भण्डारण गरेर राखेका थिए । विशेष सुराकीका आधारमा प्रहरीले विश्वकर्मालाई डिभिजन वन कार्यालय पर्वतमा बुझाएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक प्रदिप पौडेलको कमाण्डमा खटिएको टोलीले समातेको हो । टहराबाट प्रहरीले २ सय ९२ वटा सल्लाको चिरान काठ फेला पारेको थियो ।साथै, जलजला गाउँपालिका १ स्थित देउराली सामुदायिक वनमा ठिग्रे सल्लाको काठ चिरान गरी बेवारिसे अवस्थामा थुपारी राखेको सूचनाको आधारमा प्रहरीले १ सय ७७ थान काठ पनि बरामद गरेको छ ।दुबै स्थानबाट बरामद गरेको काठ र विश्वकर्मालाई आजै अनुसन्धान तथा कारवाहीको लागी डिभिजन वन कार्यालय पर्वतमा बुझाएको छ । डिभिजन वन कार्यालयले पनि विश्वकर्मालाई आजै पर्वत जिल्ला अदालतमा पठाएको थियो ।
अदालतले विश्वकर्मालाई १५ दिन म्याद थप गरी अनुसन्धान गर्न आदेश दिएको छ ।
टिप्पणीहरू