राजमार्गमा भ्यान ठोक्किँदा दुई जना बिते, एक गम्भीर

राजमार्गमा भ्यान ठोक्किँदा दुई जना बिते, एक गम्भीर

मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको ट्रिपरमा भ्यान ठोक्किँदा दुई जना बितेका छन् ।

बा.११च ५७८८ नम्बरको मारुती भ्यान विपरित दिशाबाट गइरहेको लु.२ख १७०१ नम्बरको ट्रिपरमा ठोक्किँदा आज भ्यानमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भ्यानमा सवार एक यात्रुको अवस्था गम्भीर छ ।

नारायणगढ–मुग्लिन सडकखण्डको १५ किलो भन्ने स्थानमा भएको उक्त दुर्घटनामा धादिङको गल्छी गाउँपालिका–१ की निशा वली ढुंगाना र उनका नौ वर्षीय छोरा निमेशको मृत्यु भएको हो ।

निमेशको उपचारका लागि भरतपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो भने निशाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

निशाकी आमा राप्ती नगरपालिका–३ की धीरमाया वलीको अवस्था भने गम्भीर रहेको उनले बताए । भ्यान चालक गल्छी–१ का राजकुमार ढुंगानाको अवस्था सामान्य रहेको छ ।

टिप्पणीहरू