लागुऔषध बोक्ने युट्युबरमाथि सात दिन अनुसन्धान हुने
सिन्धुलीमा लागुऔषधसहित समातिएका एक युट्युबरलाई जिल्ला अदालत सिन्धुलीले सात दिनको म्याद थपेर अनुसन्धान गर्ने आदेश दिएको छ । गोलन्जोर गाउँपालिका ७ खुर्कोटस्थित विपी राजमार्गबाट बुधबार पक्राउ परेका उनीमाथि अदालतले अनुसन्धान गर्ने आदेश दिएको हो ।
प्रक्राउ पर्नेमा चेतन ब्लगका सञ्चालक काठमाडौं महानगरपालिका २६ सामाखुशी बस्ने ३७ वर्षका चेतन कार्की हुन् । उनलाई प्रहरीले नियमितरुपमा सवारी साधनको चेकजाँच गर्ने क्रममा बर्दिवासबाट धुलिखेलतर्फ जाँदै गर्दा पक्रेको हो ।
कार्कीले बागमती प्रदेश ०१–००३ क ९१८२ नम्बरको मिनी ट्रक चलाएका थिए । उनले चलाएको ट्रकलाई चेक जाँच गर्ने क्रममा उनले लगाएको खैरो रंगको ट्रयाकको दाहिने खल्तिबाट ४ दशमलब १ सय ३० ग्राम खैरो हिरोइन तथा गाडीभित्र राखेको सुनौलो रंगको गीतारको कभरमा ६ दशमल ९ सय ४० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोजकुमार लामाका अनुसार उनीमाथी लागू औषध मुद्दामा सिन्धुली जिल्ला अदालतले सात दिन म्याद थप गरि अनुसन्धान गर्ने आदेश दिएको छ ।
टिप्पणीहरू