काभ्रे प्रशासनले पनि क्यालेण्डर हेरेर सेवा दिने
जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले बार हेरेर सेवा दिने भएको छ । कोरोनाका कारण अत्यावश्यकबाहेकका सेवा बन्द गरेको प्रशासनले आजदेखि बार हेरेर सेवा दिने निर्णय गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुवेदीले सबै नगरपालिकालाई आलोपालो सेवा दिन निर्देशन दिइएको बताएका छन् ।
जसअनुसार काभ्रेपलाञ्चोक जिल्लाका सबै स्थानीय तहलाई सेवा दिने व्यवस्था मिलाइएको छ । आइतबार धुलिखेल नगरपालिका र रोशी गाउँपालिका, सोमबार बनेपा नगर र चौंरीदेउराली गाउँपालिका, मंगलबार पनौती नगर र बेथानचोक गाउँपालिकाका नागरिकले सेवा पाउने छन् ।
यस्तै, बुधबार पाँचखाल नगर र तेमाल गाउँपालिका, बिहीबार मण्डनदेउपुर नगर र भुम्लु गाउँपालिका तथा शुक्रबार नमोबुद्ध नगर र खानीखोला गाउँपालिकाका नागरिकलाई सेवा प्रवाह गरिने छ ।
महाभारत गाउँपालिकाको निम्ति इलाका प्रशासन कार्यालय, देवीटारबाट सेवा दिइने जनाइएको छ । सेवा लिन आउनेलाई कोरोनाविरुद्धको खोपकार्ड भने अनिवार्य गरिएको छ ।
कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि यही माघ ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकको सेवा स्थगन गरिएको छ ।
टिप्पणीहरू