भारतीय ग्यास बुलेटको ठक्करबाट ‘जेठा दाइ’ को निधन

भारतीय ग्यास बुलेटको ठक्करबाट ‘जेठा दाइ’ को निधन

हेटौंडाको चर्चित चिया अड्डा जेठा दाइको चिया पसलका सञ्चालक बुध्दिबहादुर श्रेष्ठ ‘जेठा दाइ’ को सवारी दुर्घटनामा निधन भएको छ । उहाँले अढाई दशकदेखि निरन्तर सीमाचोक आसपासका क्षेत्रमा चिया पसल सञ्चालन गर्नु भएको थियो ।

पश्चिम मकवानपुरको मनहरीबाट हेटौंडा जाने क्रममा हेटौंडा १९ नेवारपानीमा भारतीय ग्यास बुलेटको ठक्करबाट निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको एनएल–०१ एन २९९९ नम्बरको भारतीय नम्बर प्लेटको ग्यासबुलेटले ठक्कर दिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

“चिया बेचेरै जेठा दाइले हेटौंडामा घर ठड्याउनु भएको थियो भने परिवारको पालनपोषण र शिक्षादीक्षा दिलाउनुभएको थियो ।”

ठक्करबाट गम्भीर घाइते भएका जेठा दाइलाई उपचारार्थ हेटौँडा ११ स्थित चुरेहिल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरिदिएका थिए । ठक्कर दिने ग्यास बुलेट प्रहरीको नियन्त्रणमा छ भने चालक फरार छन् । जेठा दाइ मनहरीस्थित आफन्तका घरमा पुगेर हेटौंडा फर्कने क्रममा उक्त दुर्घटना भएको हो ।

लामो समयसम्म चिया र नास्ता व्यवसाय गर्नुभएका श्रेष्ठको चिया पसल साँघुरो गल्लीमा छ । उक्त चिया पसलमा विभिन्न राजनीतिक दलका नेता,पूर्वमुख्यमन्त्री, संविधानसभा सदस्य,सांसदहरु, प्रदेश सभा सदस्य तथा पत्रकारहरुको बाक्लो उपस्थिति हुने गर्थ्यो ।

चिया बेचेरै जेठा दाइले हेटौंडामा घर ठड्याउनु भएको थियो भने परिवारको पालनपोषण र शिक्षादीक्षा दिलाउनुभएको थियो । मकवानपुर उद्योग वाणिज्य संघबाट उहाँ गत वर्ष साना व्यवसायीको रुपमा सम्मानितसमेत हुनुभएको थियो ।

टिप्पणीहरू