हिमपातले खोप अभियान स्थगित
मनाङमा कोरोनाविरुद्धको बुस्टर खोप अभियान स्थगित भएको छ । हिमपातका कारण पैदलमार्गसमेत अवरुद्ध भएपछि खोप अभियान स्थगित गरिएको हो ।
मनाङमा कोभिड-१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान ५ माघबाट सञ्चालन भएको थियो । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६ महिना पूरा भएका नागरिकका लागि बुस्टर खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।
नार्पाभूमि गाउँपालिकामा चिसोका कारण सबैजना काठमाडौं, पोखरा, बेंसीसहर झरेकाले फागुनमा मात्रै बुस्टर खोप लगाउने कार्यक्रम तयार भएको छ । मनाङ कोरोनाविरुद्धको पहिलो पूर्ण खोपयुक्त जिल्ला समेत हो । त्यहाँ १८ वर्षभन्दा माथिका सबैले कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्राको खोप लगाइसकेका छन् ।
एक हजार बढीले बुस्टर खोप लगाएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । पहिलो र दोस्रो खोपको मात्राको खोप लगाइसकेका ४ हजार ३ सय ९९ जना रहेका छन् ।
चामे र नासोंमा बुस्टर खोप लगाइसके पनि माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा माघ २० बाट सुरु गर्ने तयारी थियो । तर, हिमपताले प्रभावित भएको हो ।
टिप्पणीहरू