हावा खान आउँदा चिठ्ठा ह्वात्तै

संगठन विद्यार्थीको, तर नेतृत्वचाहिँ दलाल, ठेकेदार र उद्यमीको भएपछि गाइजात्रा चल्ने नै भयो । नेविसंघको रमिता हो यो । मुख्य नेताबीच भागबण्डा लगाएर नेतृत्व चयन गर्ने भनिए पनि उपगुटभित्रै रडाको मच्चिँदा २१ मा १० जनामात्र मनोनीत भएका छन्, ११ पदाधिकारीले पूर्णता पाउन बाँकी छ । र, परेका पदाधिकारी पनि गैरविद्यार्थी छन् ।

अध्यक्ष बनाइएका राजीव ढुंगाना अहिले पनि सुनसरी कांग्रेसका सचिव हुन् भने उनको व्यवसाय शेयर कारोबार हो । उनी सुमेरु सेक्युरिटिज कम्पनीको शेयर दलाल नं. ३४ को लाइसेन्ससहित आफ्नो व्यवसायमा सक्रिय छन् । नेविसंघको केन्द्रीय उपाध्यक्ष भइसकेका उनी ठेक्कापट्टामा पनि सक्रिय छन् । नेविसंघ नेतृत्वका लागि ३२ वर्षे उमेरहद तोकिए पनि उनी ५० हाराहारीका हुन् ।

प्रकाशमान सिंहको कोटाबाट महामन्त्री बनाइएका प्रभातकुमार दाहालले पढाई छोडेको २० वर्ष भयो । पेशाले निर्माण व्यवसायी हुन् । तरुण कन्स्ट्रक्सन प्रा.लिका सञ्चालक हुन् । मकवानपुरमा इन्द्र बानियाँसँग कांग्रेसको जिल्ला सभापतिमा उठेर हारेका । अहिले चिठ्ठा परेर नेविसंघको महामन्त्री बनेका छन् । अर्का महामन्त्री मुक्तिराम पौडेलचाहिँ देशमा केही नहुने भयो भन्दै केही वर्षदेखि परिवारसहित क्यानाडा बस्न थालेका थिए । उता माइनस ४० डिग्रीसम्मको चिसो खानुभन्दा केही दिन आफ्नै देशको हावा खानु उचित लागेर छुट्टीमा काठमाडौंतिर डुल्दै थिए । तर, हावामात्रै खाएनन्, फ्याट्टै महामन्त्री खाइदिए । क्यानाडाको पिआरसमेत लिएका मुक्तिराम पेशाले बुटवल हेल्थ इन्स्टिच्युटका मालिक हुन् । पद्मकन्या क्याम्पसकी पूर्वनेतृ चन्दा अधिकारी उनकी पत्नी । चन्दा पनि यता केही नहुने भो भन्दै क्यानाडामै बस्ने गरेकी छन् । मुक्तिराम प्रदीप पौडेलका भरलाग्दा आर्थिक सहयोगी र रामचन्द्र पौडेलमार्फत महामन्त्री बनाइएका । रामचन्द्रकै कोटाबाट महामन्त्री बनेका दीपक भट्टराईचाहिँ पेशाले प्राध्यापक । सधैं क्याम्पस जान्छन्, तर विद्यार्थीको रुपमा हैन, प्राध्यापकका रुपमा । त्रिचन्द्रका आंशिक प्राध्यापक र पार्टी नेता गोविन्द भट्टराईको काकाका छोरा पनि । कृष्ण सिटौलाले पनि आफ्नो कोटाबाट तुलसा पन्तलाई उपाध्यक्ष बनाएका छन् । उनीचाहिँ बानेश्वरमा गल्र्स होस्टेल चलाउँछिन् ।

अध्यक्षसहित ६ उपाध्यक्ष, ९ महामन्त्री र ६ सहमहामन्त्री गरी २१ सदस्यीय पदाधिकारीमध्ये देउवाले अहिलेसम्म आफ्नो कोटाबाट अध्यक्ष, २ उपाध्यक्ष, ३ महामन्त्री र २ सहमहामन्त्री बनाएका छन् । रामचन्द्रले ३ महामन्त्री, २ उपाध्यक्ष र २ सहमहामन्त्री पाए । रामचन्द्रको कोटामा सशांकले भनेर उर्मिला थपलियाको नाम पठाए । अहिले अर्को एउटा मान्छे पठाउनका लागि देउवासँग अनुरोध गरेका छन् । रामचन्द्रले अझै २ उपाध्यक्ष र २ महामन्त्री पठाउनुपर्ने हो । तर, आकांक्षी धेरै हुँदा उपगुटभित्र रडाको शुरु भएको छ । देउवाले पनि २ महामन्त्री त बनाए, तर थप महामन्त्री र उपाध्यक्षको नाम दिन सकिरहेका छैनन् ।

टिप्पणीहरू