स्थानीय तह निर्वाचनको मिति घोषणाविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ
स्थानीय तह निर्वाचनको मिति घोषणाविरुद्ध दर्ताका लागि लगिएको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको छ । महोत्तरीको भंगाहा नगरपालिकाका मेयर संजिवकुमार शाहले दर्ता गर्न लागेको रिट दरपीठ भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
स्थानीय तह निर्वाचन ऐनअनुसार नै सरकारले चुनावको मिति घोषणा गरेकाले रिट दर्ता गर्न आवश्यक नभएको उनले बताए । सरकारले अस्ति २०७९ वैशाख ३० का लागि एकै चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको थियो ।
संविधानले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष पूरा हुने प्रष्ट व्यवस्था गरेको छ । २०७४ सालमा बैशाख ३१, असार १४ र असोज २ गरि तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । तर, सरकारले पहिलो चरणको निर्वाचनलाई कार्यकाल समाप्त हुने अवधि मान्ने ऐनको व्यवस्थामा टेकेर चुनावको मिति घोषणा गरेको हो ।
सरकारले मिति घोषणा गर्नु पहिले ऐनको व्यवस्थाबमोजिम चुनाव हुँदा दोस्रो र तेस्रो चरणको चुनावबाट निर्वाचितहरुले संविधानबमोजिम आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्न नपाउने भन्दै कानुनी विवाद देखिएको थियो । केही जनप्रतिनिधिले त्यतिबेलै कानुनी लडाई लड्ने संकेत गरेका थिए ।
टिप्पणीहरू