भ्रष्टाचारको माखेसाङ्लोभित्र गंगादेव गाउँपालिका
रोल्पाको गंगादेव गाउँपालिकाभित्र भ्रष्टाचार मौलाएको स्थानीय राजनीतिक पार्टीका प्रतिनिधि तथा अगुवा युवाहरूले आरोप लगाएका छन् । विशेषगरी जनप्रतिनिधिको मिलेमतोमा आर्थिक अनियमितता, उपभोक्ता समितिबाट गरिएका कामहरू अपारदर्शी, सेवा प्रवाहमा विभेदलगायत गुनासो व्यापक रूपमा बढेको हो । गंगादेव गाउँपालिका लुम्बिनी प्रदेशकै ‘पंगु र भ्रष्ट’ स्थानीय तह बनेको राजनीतिक दलका स्थानीय नेता–कार्यर्ताहरूले बताएका छन् ।
पालिका अध्यक्ष वीरबहादुर केसीलाई पार्टीगत स्वार्थपूर्तिका लागि व्यक्तिपिच्छे सरकारी बजेट बाँडेको आरोप लागेको छ । उनले वडा नम्बर ३, ४ र ५ का कतिपय माओवादी कार्यकर्तालाई गाउँपालिकाबाट ठेकापट्टा, उपभोक्ता समितिको अध्यक्ष र निजी–खानेपानी तथा कृषिका नाममा विशेष आर्थिक लाभ दिएपछि उक्त आरोप लागेको हो ।
गंगादेवभित्रका अधिकांश विकासे कार्यहरु अध्यक्ष केसी, उपाध्यक्ष रिता घर्तीनिकटका व्यक्तिहरूले नै मिलेमतोमा पाउँदै आएका छन् । उनीहरूको मिलेमतोमा आफ्नै समर्थकलाई उपभोक्ता समितिको अध्यक्ष तथा पदाधिकारी चुन्ने गरिएको छ । कामका लागि आएको रकम कामै नगरी ठेकेदार, समितिका पदाधिकारी र पालिकाअध्यक्षको मिलेमतोमा हराएपछि जनअसन्तुष्टी बढेको हो ।
प्रदेश सरकार र स्थानीय तहबाट गाउँ–बस्तीमा परेका योजनाबारे स्थानीयहरू नै बेखबर देखिन्छन् । समुदायमा छलफल गरी गठन गर्नुपर्ने उपभोक्ता समितिलाई अध्यक्ष केसीले बोलाएर कार्यकक्षबाटै छान्ने गरिएको स्थानीय बताउँछन् । हालसम्म बनाइएका उपभोक्ता समितिहरू स्थानीयको सल्लाह र छलफलबिनै गठन गरिएको नेकपा (एमाले) गंगादेवका उपाध्यक्ष मिश्रीप्रसाद डाँगीको आरोप छ ।
स्थानीयले पटक पटक जनप्रतिनिधिका अनेकौं विकृतिविरूद्ध आवाज उठाए पनि सम्बन्धित निकायले नसुनेझैँ गरिरहेको स्थानीय युवा तिलक केसीको गुनासो छ । जनप्रतिनिधि र उपभोक्ता समितिको मिलेमतोमा सम्पन्न गरिएका योजनाहरूको अहिलेसम्म सार्वजनिक सुनुवाई समेत गरिएको छैन । त्यसबारे सूचनापाटीमा समेत उल्लेख गर्ने गरिएको छैन । गंगादेवका स्वतन्त्र युवाहरूले जनप्रतिनिधिहरूले ठाउँ–ठाउँमा गरेको अनियमितता भण्डाफोर गर्नुपर्ने अर्का स्थानीय युवा निशान क्षेत्री बताउँछन् । जनताको सेवामा खट्नुपर्ने प्रतिनिधिहरू नै भ्रष्टाचारमा डुब्नु दुःखद पक्ष भएको उनको भनाइ छ ।
‘गंगादेवको बेथिति भनिसाध्य छैन । कहाँ छैन र भ्रष्टाचार ? जता हेर्यो, उतै अनियमितता छ । गतिलोसँग छानबिन गर्ने हो भने सबैको पोल खुल्नेछ,’ क्षेत्रीले भने । प्रधानमन्त्री रोजगार कार्यक्रममासमेत लाखौँ रकम दुरुपयोग भएको स्थानीय युवाहरूले दाबी गरेका छन् । दुई चार दिन साबेल चलाएजस्तो गरे पनि कामै नगरी डोजर लगाएर बजेट सिध्याएको अध्यक्षमाथि गम्भीर आरोप लागेको छ ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश प्रतिनिधि कुलबहादुर केसीले गंगादेव गाउँपालिका संस्थागत रूपमै जनताको चासो, गुनासो र टिप्पणीबाट टाढिएको बताएका छन् । स्थानीय तहका अधिंकाश जनप्रतिनिधिहरू विवाद र अनियमिततामा फसेको उनी दाबी गर्छन् । सल्यान र रोल्पा सीमाक्षेत्रको हाँसिकाटे–लालीगुराँस सामुदायिक वन र बाह्रजथाक सामुदायिक वन फँडानीप्रति प्रतिनिधि केसीले गम्भीर चिन्ता व्यक्त गरेका छन् । यसबारे पटकपटक गाउँपालिकालाई जानकारी गराउँदा पनि जनप्रतिनिधिहरू टुलुटुल हेरेर बसेको उनको आरोप छ ।
सडक, खानेपानी, विद्यालय भवनलगायत भौतिक संरचना निर्माणका क्रममा जताततै भ्रष्टाचार भइरहेको उनले संकेत गरेका छन् । ‘सुख्खा ओडारदेखि रमाई जाने बाटोमा पूरै अनियमितता भएको छ, शिक्षक छनोटमा राम्राभन्दा हाम्रालाई छानियो,’ उनले भने, ‘आर्थिक अनियमितता मात्रै होइन पालिकाबाट भएका अधिकांश निर्णय विवादित छन् । स्थानीय तहले बनाउनुपर्ने सामान्य कानुनसमेत बनाउन सकेनन् ।’
त्यस्तै, ताम्राखोला–लिसारुख–नाउली–घोरनेटी–बडामेला–रमाइ खानेपानी मर्मत योजना पालिका अध्यक्ष केसीकै मिलेमतोमा व्यापक भ्रष्टाचार भएको स्थानीयहरू दाबी गर्छन् । प्रदेश सरकारबाट खानेपानी मर्मतका लागि ५१ लाख रुपैयाँ विनियोजित गरिएको थियो । तर २० देखि २५ लाख रुपैयाँ मात्रै खर्च गरेर बाँकी रकम सिध्याएर नयाँ उपभोक्ता समितिले उल्टै सात लाख ऋण देखाएको आरोप लागेको हो । स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यसबारे दुईवटा उजुरीसमेत परेको छ । सञ्चालनमा रहेको खानेपानी मर्मतको क्रममा झन् बिगारेको स्थानीय छत्रबहादुर डाँगी बताउँछन् ।
‘खानेपानी निर्माण कार्य सम्पन्न भएको यत्रो समय भइसक्यो । तर अहिलेसम्म धारामा पानी नै झर्दैन,’ उनले भने । डेढ वर्षदेखि गाउँभर खानेपानीको चरम समस्या उत्पन्न भएको छ । जनप्रतिनिधिले नै उपभोक्तालाई गुमराह राखेर चुनेको उपभोक्ता समितिले खानेपानी पाइप लाइनको गतिलो मर्मत नगरेको डाँगीको गुनासो छ । मर्मत समितिले दुईवटा ‘आरभीटी ट्याङकी’ र टुटी बिनाका धारा बनाएको छ । फलामे पाइप (जीआई) लाग्ने ठाउँमा पनि प्लाष्टिक पाइप प्रयोग गरेको उपभोक्ताहरूको भनाइ छ ।
‘ब्रेक प्रेसर ट्याङ्क’ राख्नुपर्ने ठाउँमा सोझै कालो प्लाष्टिक पाइप राखिएको छ । स्थानीयका अनुसार पुरानो खानेपानीमा प्रयोग भएका कुनै पनि सामग्रीको कहिँकतै लेखाजोखा छैन । ती सामग्री सन्दर्भमा न संस्थापक उपभोक्ता समिति नै जानकार छ, न गाउँपालिका अध्यक्षले छानेको नयाँ समिति । चाख्लेपातल–नाउली–ओइती मोटरबाटो स्तरोन्नतीका लागि छुट्याइएको ५१ लाख रुपैयाँ पनि अध्यक्ष केसी र उपभोक्ता समितिका पदाधिकारीको मिलिभगतमा दुरुपयोग गरिएको स्थानीयहरूले आरोप लगाएका छन् ।
कहिँकतै डोजर चलाएजस्तो गरे पनि ५१ लाखमध्ये २० लाख रुपैयाँको पनि काम नभएको उनीहरू बताउँछन् । उक्त मोटरबाटो मर्मत गरेको बताइएको छ तर अवस्था झन् खराब छ । योजना र उपभोक्ताको संवाद नगरी पैसा कमाउने नाममा समितिले डोजर चलाउँदा गाडी कुदाउन थप समस्या भएको उनीहरु बताउँछन् ।
टिप्पणीहरू