माओवादीको महासचिवमा सम्भावना कसको ?

माओवादीको महासचिवमा सम्भावना कसको ?

नेकपा (माओवादी केन्द्र) मा अध्यक्षपछि शक्तिशाली मानिने महासचिव को होला ? अझै पनि प्रष्ट चित्र आइसकेको छैन । केन्द्रीय समितिको बैठक पटक-पटक स्थगित हुँदा पदाधिकारी चयन प्रक्रिया नै अलपत्र परेपछि यस्तो स्थिति बनेको हो ।

माओवादीले भोलि माघ २८ र २९ गते बैठक बोलाएको छ । केन्द्रीय सदस्यको मनोनयन,पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीको चयन बैठकको एजेण्डा छ । तर, एमसीसी र चुनावको मुध्दाले प्राथमिकता पाए पदाधिकारी चयन प्रक्रिया अझै लम्बिन सक्ने माओवादी स्रोतले जनाएको छ ।

गत पुसमा आठौं महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गरेको छैन । महाधिवेशनलगत्तै बसेको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चयन गरेर पुस २५ सम्मलाई बैठक स्थगित गरेको थियो । अध्यक्ष प्रचण्डसहित दर्जनौँ केन्द्रीय नेतालाई कोरोना लागेपछि पुस २५ को बैठक स्थगित गरेर माघ ८ का लागि अर्को मिति तोकियो । तर,कोरोना संक्रमण बढेको भन्दै सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने उक्त बैठक पनि रोकिएको थियो ।

अब बस्ने बैठकले पदाधिकारी चयन गर्ने अपेक्षा गरिएकाले सबैको ध्यान महासचिवमा छ । महासचिवमा प्रचण्डका दुई विश्वासपात्र वर्षमान पुन र जनार्दन शर्माले दाबी नछोडेपछि तेस्रो व्यक्तिलाई अघि सार्ने तयारी भैरहेको बताइएको छ । पुन र शर्मालाई पदाधिकारीमै समेटेर महासचिवमा देव गुरुङलाई प्रस्ताव गर्ने सम्भावना रहेको माओवादी स्रोतले बताएको छ ।

‘सहमतिमै पदाधिकारी टुंगो लगाउने प्रयास भैरहेको छ । उहाँहरु (पुन र शर्मा) एकले अर्कालाई स्वीकार नगरे देव गुरुङ महासचिव बन्नुहुन्छ । चुनाव हुँदैन’, माओवादी स्रोतले भन्यो ।

महासचिवबाहेकका पदमा भने ठूलो विवाद नरहेको बताइन्छ । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको निश्चितजस्तै छ । उपाध्यक्षहरुमा कृष्णबहादुर महरा,पम्फा भुसाल, हरिबोल गजुरेल,गिरिराजमणि पोखरेललगायतको नाम प्रस्ताव हुने बुझिएको छ । त्यस्तै,बैठकमा केन्द्रीय सदस्यहरुको मनोनयन पनि गरिने छ । महाधिवेशनले १ सय ३६ जना केन्द्रीय सदस्य चयन गरेको थियो । १ सय ९९ सदस्यीय केन्द्रीय कमिटीमा अरु मनोनित हुन बाँकी छ ।

यता,अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर एमसीसी मुख्यालयलाई लेखेको पत्रबारे पनि बैठकमा कुरा उठाउने केही नेताको तयारी छ । पार्टीमा छलफलै नगरी महाधिवेशनको म्याण्डेटविपरित एमसीसी पास गर्ने प्रतिवध्दतासहितको पत्र लेखिएकोबारे बैठकमा कडिकडाउ कुरा हुने स्रोतले बतायो ।

पार्टी र जनतालाई ढाँटेर पत्र लेख्नुपर्ने बाध्यता के थियो त्यसको औचित्य पुष्टि हुने गरी प्रचण्डसँग जवाफ खोज्ने तयारीमा नेताहरु रहेको बताइएको छ ।

टिप्पणीहरू