दार्जीलिङलाई कसले बिगारे ?
-विक्रमवीर थापा,शिलोङ, भारत
सामाजिक सञ्जालमा देख्ने गर्छु– विमल गुरुङले पश्चिम बङ्गालकी मुख्यमन्त्री एवं तृणमूल कांग्रेस प्रमुख ममता दिदीको पछ्यौरी समाएपछि बर्खे–झरीमा उम्रेको च्याउझैँ दार्जिलिङमा ‘गोर्खा नेताहरू’ जन्मिए ।
गोर्खाल्याण्डको हितमा काम गरे राम्रै हो । तर उनीहरूले एकअर्कामा आरोप–प्रत्यारोप गरेका कुरा सञ्चारमाध्यममा पढ्दा मन दुख्ने गर्छ । कारण मेरो पनि ‘गोर्खे मन’ हो । गोर्खे मन थियो । र,छ नै । उपन्यास ‘टिस्टादेखि सतलजसम्म’ लेख्न सकेँ । गोर्खे मन नभएको भए कहाँ लेखिन्थ्यो र ?
दार्जिलिङ दुईपल्ट पुगेँ । एकपल्ट सन् १९७४ मा उपन्यास ‘विगतको परिवेशभित्र’ छपाउनका लागि प्रकाशकको खोजीमा । दोस्रोपल्ट सन् १९९९ ताका ।
“मेरो पनि ‘गोर्खे मन’ हो । गोर्खे मन थियो । र,छ नै । उपन्यास ‘टिस्टादेखि सतलजसम्म’ लेख्न सकेँ । गोर्खे मन नभएको भए कहाँ लेखिन्थ्यो र ?”
त्यहाँ पुग्नुको कारणचाहिँ ‘गोर्खा दुःख निवारक सम्मेलन’ ले वर्षेनी दार्जिलिङका लागि संगीत प्रतियोगिता कार्यक्रममा निम्तो पाएर हो आमन्त्रित अतिथिको रूपमा । सन् १९९९ मा पुगेको बेला सुवास घिसिङको राज थियो । दार्जिलिङ अशान्त थियो । जताततै ६ इञ्चको जगजगी थियो ।
सन् १९७४ मा भने दार्जिलिङ शान्त थियो । सुन्दर थियो । सबै दाजुभाइ अनि दिदीबहिनीहरूबीच परस्परमा मधुर मिलाप थियो । यद्यपि त्यसबेला दार्जिलिङमा ‘गोर्खा’ नामको हुरी चलेको थिएन । सबै ‘नेपाली’ थिए र कवि अगमसिंह गिरीले लेखे– ‘नौ लाख तारा उदाए…, न सम्झ आज नेपाली सञ्चोले यहाँ बाँचेको’…।
त्यसबेला त्यहाँका दिदीबहिनी र दाजुभाइहरूले मप्रति कल्पनातीत सौहार्द्रता बाँडे । यसबारे मैले आफ्नो आत्मजीवनी भाग–१ ‘कारगिल युध्द–१९९९’ मा राम्ररी वर्णन गरिदिएको छु ।
तर हिजोको दार्जिलिङ अशान्त थियो । तर पनि दार्जिलिङका आजका जनसाधारण दिदीबहिनी अनि दाजुभाइहरू अत्यधिक सोझा,सरल छन् । मसँग मोबाइल फोनमा सौहार्द्रपूर्ण कुरा हुन्छ उनीहरूको यसैकारण साहित्यकार एवं अकादेमी पुरस्कारद्वारा सम्मानित आर.पी. लामाबारे लेखिएको मेरो लेख अहिले दार्जिलिङबाट छापिँदैछ ।
दार्जिलिङलाई बिगारेका छन्,झरी च्याउझैँ उम्रेका गोर्खे नेताहरूले । यिनीहरूको पछि लाग्ने चम्चेहरूले । यदि दार्जीलिङका साधारण गोर्खा जनताहरूले मप्रति सौहार्द्रपूर्ण सद्भावना नराखेका भए कवि अगमसिंह गिरीको तैलचित्र चित्रांकन गर्ने सुअवसर पाउने थिइनँ । यो तैलचित्र ‘दुःख निवारक सम्मेलन’, दार्जिलिङमा सजिएको छ ।
यसैगरी ‘नेपाली भाषा प्राप्ति’ को आन्दोलनमा शहीद हुने कृष्ण सुब्बाको तैलचित्र चित्रांकन गर्ने सुअवसर पनि पाउने थिइन । यो तैलचित्र सिक्किमवासी साहित्यकार कपिलमणि अधिकारीको घरमा सुशोभित छ ।
यसकारण दार्जिलिङबासीमा विक्रमले हृदयको अन्तरकुनाबाट नमस्कार एवम् शुभकामना चढाउँदछ । दुःख यसैमा छ– ‘दार्जिलिङ पहाडकी रानीमा ती मधुमय दिनहरू कहिले फर्केलान्..!’
टिप्पणीहरू