कुरान जलाएको आरोपमा ढुंगाले हानेर हत्या
पाकिस्तानमा कुरान जलाएको भन्दै एक युवकको ढुंगाले हानेर हत्या गरिएको छ । कुरानको अपमान गरेको आरोपमा ती व्यक्तिलाई ढुंगाले हानेर पाशविक हत्या गरिएको हो ।
पन्जाबको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले उनको हत्या गरेको हो । एक जना मानिसले कुरानका पेजहरु च्यातेको र आगो लगाएको हल्ला चलेपछि माघरिब प्रार्थनालगत्तै सयौं स्थानीय जंगल डेरा गाउँमा भेला भएका थिए ।
लगत्तै केही समयपछि एक व्यक्तिको शव रुखमा झुन्डाइएको थियो ।
पाकिस्तानी समाचार संस्था डनका अनुसार ती व्यक्तिले आफूले निर्दोष भएको बताएका थिए, तर उनको कुरा भीडले सुनेन । ती व्यक्तिलाई ढुंगा प्रहार गर्नुअघि प्रहरीको एउटा समूह घटनास्थल पुगेको थियो । प्रहरीले तत्काल ती व्यक्तिलाई नियन्त्रणमा पनि लियो ।
तर, भीडले ती व्यक्तिलाई प्रहरीबाट लछारेर आफ्नो नियन्त्रणमा लिएको थियो ।
पाकिस्तानमा इस्लाम धर्मको निन्दा गरेको आरोपमा व्यक्ति हत्या गरिएको यो पहिलो घटना भने होइन । डिसेम्बरको शुरुमा पनि कुरानको निन्दा गरेको आरोपमा एउटा समूहले कुटेर एक श्रीलंकनको हत्या गरेको थियो ।
टिप्पणीहरू