चिठ्ठाको लोभमा झिटीगुन्टा जाने खतरा
पछिल्लो समय अनलाइन ठगहरुको संख्या बढेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोले अनुरोधसहितको सचेतना पत्र जारी गरेको छ । विद्युतीय आर्थिक कारोबार बढिरहेको अवस्थामा प्रविधिको दुरुपयोग गर्दै ठगी गर्नेबाट बच्न पनि भनिएको छ ।
सामाजिक सञ्जाल ह्वाट्सएप, भाइबर,ईमोलगायतका सामाजिक एपहरुबाट भिडियो,अडियो तथा म्यासेजमार्फत मोबाईल ब्याँकिङ्गको युजर तथा पासवर्ड माग्ने र नक्कली वेवसाइट बनाएर ग्राहकको गोप्य सूचना चोरी गर्नेबाट सजग रहन ब्यूरोले आग्रह गरेको हो ।
साइबर ठगहरुले चिठ्ठा परेको छ भन्दै परेको रकम आफ्नो बनाउन कर तिर्नुपर्ने भनी बैकिङ्ग तथा अनलाइन पेमेन्ट गेटवेमार्फत रकम ठगी गर्ने गर्दछन् । उक्त ठगीबाट बच्न र चिठ्ठाको भ्रममा नपर्न आग्रह गर्दै आफ्नो गोप्य पासवर्ड,ओटिपी कोड वा संवेदनशील जानकारी कसैलाई नदिन सर्वसाधारणलाई ब्यूरोले भनेको छ ।
सर्वसाधारणको सचेतनाका लागि जारी गरिएको सूचनामा प्रविधिको दुरुपयोगबाट बच्न तथा ठगी हुनबाट सतर्कता अपनाउन प्रहरीको साइबर ब्यूरोले आग्रह गरेको छ ।
साथै, नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागबाट समय समयमा विध्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमका सम्बन्धमा सर्वसाधारणका लागि जारी भएको सूचनाबाट समेत जानकारी लिन ब्यूरोले अनुरोध गरेको छ ।
टिप्पणीहरू