रक्सीको रनाहामा आफन्तको हत्या
डडेल्धुरामा एक युवकको हत्या गरेको आरोपमा तीन जना समातिएका छन् । मादक पदार्थ सेवनपछि उत्पन्न विवादका क्रममा कुटपिट गरी डोटीको दिपायल सिलगढी नगरपालिका-३ का ३५ वर्षीय बसन्त सिजापतिको हत्या गरेको आरोपमा उनीहरुलाई प्रहरीले समातेको हो ।
पक्राउ पर्नेमा परशुराम नगरपालिका–१२ मा बस्दै आएका २४ वर्षीय आशिष बराल,आलिताल गाउँपालिका–८ बस्ने १८ वर्षीय पुजन लोहनी र परशुराम नगरपालिका–१२ बस्ने अटो रिक्सा चालक तेजबहादुर बिक रहेका छन् । हत्या आरोपमा पक्राउ परेका बराल र लोहनी मृतक सिजापतिका नातेदार हुन् भने अटो रिक्सा चालक उनीहरूका साथी हुन् ।
हिजो बिहान आलिताल गाउँपालिका–४ मा घाइते अवस्थामा भेटिएर उपचारका क्रममा सिजापतिको जोगबुढा अस्पतालमा ज्यान गएको हो ।
अस्ति राति बरालको घरमा मृतकसहितका तीन जनाले सँगै बसेर मदिरा सेवन गरेको पाइएको प्रहरीले बताएको छ । अनुसन्धानका क्रममा उनीहरू तीनै जनाले मदिरा सेवन गरेपछि सिजापतिसँग विवाद हुँदा सोही क्रममा कुटपिट गरेर घाइते अवस्थामा अटोमा राखेर आलिताल गाउँपालिका–४ मा छाडेर गएको बयान दिएका छन्।
पक्राउ परेका उनीहरुविरुध्द कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
टिप्पणीहरू