सरकार छोड्ने माओवादीको चेतावनीसङ्गै एमसिसी दर्ता सर्यो

सरकार छोड्ने माओवादीको चेतावनीसङ्गै एमसिसी दर्ता सर्यो

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता आज प्रतिनिधिसभामा टेबल नहुने भएको छ । सत्ता साझेदार माओवादी केन्द्रले सहमति बिना एमसीसी अघि बढाए सरकार छोड्ने चेतावनी दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हट्नुभएको हो ।

यसअघि आज बिहान सिंहदरवारमा बसेको माओवादी संसदीय दलको बैठकले एमसीसी संसदमा टेबल भए सरकार छोड्ने निर्णय गरेको थियो । बैठकलगत्तै प्रधानमन्त्री देउवालाई उक्त निर्णयबारे जानकारी दिन अध्यक्ष प्रचण्ड बालुवाटार जानुभएको थियो । उक्त भेटमा आज एमसीसी टेबल नगर्ने सहमति जुटेको माओवादी केन्द्रका एक नेताले जनआस्थालाई बताए ।

५० साँसद रहेको माओवादीले सरकार छोडेपछि प्रधानमन्त्री देउवा स्वत: अल्पमतमा पर्ने र सरकार ढल्ने भएकाले कांग्रेस पछि हटेको अनुमान गरिएको छ ।

“आजको बैठकमा अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लुले अध्यक्ष प्रचण्डलाई धम्कीपूर्ण भाषामा एमसीसी पारित गर्न दिएको चेतावनीबारे पनि छलफल भएको बुझिएको छ ।”

एमसीसी टेबल गरे सरकार छोड्ने निर्णय गरेको माओवादीले संसद्को अवरोध खोल्नुपर्नेमा पनि जोड दिएको छ । दलको बैठकको निर्णय सुनाउँदै एक सांसदले भने, ‘प्रमुख प्रतिपक्षले संसद अवरुध्द गरिरहेको छ । संसद नखुलाइकन एमसीसी टेबल गर्न हुँदैन भन्ने हाम्रो भनाइ हो ।’

सांसदहरुले राष्ट्रिय सहमति जुटाएर मात्रै एमसीसी टेबल गर्नुपर्नेमा जोड दिँदै दलको नेतासमेत रहनुभएका अध्यक्ष प्रचण्डलाई पहल लिन सुझाव दिएका थिए । माओवादीले एमसीसी राष्ट्रिय मुध्दा भएकाले सर्वदलीय सहमति नभई टेबल गर्न नहुने अडान राख्दै आएको छ । आजको बैठकमा पनि त्यहि निर्णय भएको ती सांसदले बताए ।

आजको बैठकमा अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लुले अध्यक्ष प्रचण्डलाई धम्कीपूर्ण भाषामा एमसीसी पारित गर्न दिएको चेतावनीबारे पनि छलफल भएको बुझिएको छ । लुले प्रचण्डलाई फोन गरेर एमसीसी पास नगरे अर्को कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका थिए । साथै उनले चाइनिजहरुको हस्तक्षेपका कारण भएन भन्ने बुझ्छौँ भनेर धम्कीको भाषा बोलेका थिए ।

‘हाम्रो निष्कर्ष ऊ (अमेरिका) संशोधन गर्दैन भन्ने हो । हामी संशोधन नगरी पास गर्दैनौँ । त्यसकारण यो फिर्ता गर्नुपर्छ भन्ने नै हाम्रो संस्थागत धारणा हो’,ती सांसदले भने ।

टिप्पणीहरू